१० साउन, काठमाडौं ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान टालटुल पारेर काम चलाउन मिल्ने खालको नभएको बताएका छन । प्रादेशिक स्वायत्ता आत्मनिर्णयको अधिकार, समानुपातिक समावेसी प्रतिनिधित्वको व्यवस्था अहिलेको संविधानमा नभएको उनले बताएका हुन् ।

सोमबारदेखि शुरु भएको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दे यादवले संघीय संरचनामा पनि एकिकृत र केन्द्रिकृत न्यायालयको व्यवस्था, बहुराष्ट्रिय राज्यलाई स्विकार गर्न नसक्नु लगायतका थुप्रै प्रावधानहरू विभेदकारी रहेको बताए ।

अहिलेको संविधान एकल जातीय र नश्लीय रहेको बताउदै उनले भने,‘जसरी नेपालको लोकतन्त्र सम्भ्रान्त वर्गको खेलौना भएको छ त्यसरी नै नेपालको संविधानमा पनि एकल जातीय प्रभुत्वलाई निरन्तरता दिने उद्देश्यले अगाडि सारिएको छ ।’ आगामी दिनहरूमा पनि संघर्षका कार्यक्रमहरूलाई अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढाउनु पर्छ र संविधान पुनर्लेखन गर्नुपर्छ, यादवले भने ।