२८ असोज, काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले संविधानसभाबाट संविधान जारी हुनु र निर्वाचन हुनु दोस्रो संविधानसभाको महत्वपूर्ण उपलब्धि भएको बताएका छन । व्यवस्थापिका–संसद्को कार्यकाल कस्तो रह्यो भन्ने जिज्ञाशामा उनीहरुले दोस्रो संविधानसभाले संविधान जारी भएसँगै नेपाली जनताको सात दशक लामो सपना पूरा भएको बताए ।

दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएपछिको हालको संसद् व्यवस्थापिका–संसद्का रुपमा रुपान्तरित भएको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताए ।

संविधान बन्नुपर्छ भन्नेमा सबैभन्दा बढी संघर्ष र बलिदान आफ्नो दलले गरेको स्मरण गर्दै उनले अघिल्लो संविधानसभामा परिवर्तनकारीको बहुमत भए पनि संविधान जारी हुन नसकेको घटनाबाट चिन्तित र सचेत भएकाले दोस्रो संविधानसभाबाट संविधान जारी भएको बताए ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दोस्रो संविधानसभा नेपालको इतिहासमा निर्माण भएको ऐतिहासिक सभा भएको उल्लेख गर्दै यसले २०६२/६३ सालको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियामा नयाँ संविधान जारी गर्ने सफलता प्राप्त गरेको बताए । उनले लोकतन्त्र, समावेशी, देशभक्तिपूर्ण, गतिशील र समाजवाद उन्मुख संविधान नेपाली जनताले पहिलोपटक प्राप्त गरेको र यो नै यसको ठूलो उपलब्धि बताए ।

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफू दोस्रो संविधानमा प्रवेश गर्दा पहिलो संविधानसभा जस्तै दोस्रो संविधानसभाबाट पनि संविधान जारी हुँदैन कि र यसले निर्वाचन गर्न सक्दैन कि भन्ने आशंका रहेकामा दुवै आशंका मेटेकोमा खुशी व्यक्त गरे ।

यस कार्यकालमा संसद् समितिको सभापति र मन्त्रीको भूमिकामा काम गर्ने अवसर पाएको अनुभव सुनाउँदै नेता थापाले आफूलाई चिकित्सा विधेयक पारित गर्न नपाएको भने खड्किएको बताए । नेता थापाले संसदमा अभिलेख राख्ने कुरामा केही कमजोरी देखिएको र सबै कुरा पहिले नै निश्चित भएर मात्र संचालन हुने संसद प्रक्रियाप्रति भने गुनासो पोखे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अघिल्लो संविधानसभा जारी नभई विघटन भएको स्मरण गर्दै दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताए । उनले आफ्नो संविधान आफ्ना प्रतिनिधिमार्फत बनाउने विगत ७० वर्ष देखिको नेपाली जनताको चाहना पूरा भएको बताउँदै सुशासन कायम गर्ने सम्बन्धमा संसद्ले सन्तोषजनक भूमिका खेल्न नसकेको गुनासो गरे ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक सूचि बझाउनुपर्ने मिति यही असोज २९ गते भएकाले त्यसको अघिल्लो दिन आजबाट संसद्को कार्यकाल समाप्त भएको छ । रासस