६ कात्तिक, बुटवल ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालको संविधान विश्वमा उत्कृष्ट संविधान रहेको भन्दै संविधान संशोधन कसैको दबाब र लहडमा नहुने स्पष्ट पारेका छन । उनले कसैले भन्दैमा संविधान संशोधन हुन नसक्नेसमेत बताएका छन ।

नेकपा (एमाले) रुपन्देहीको आठौँ अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता गौतमले एमालेले जनताको भावना र मर्म बुझेर प्रतिपक्षमा बसेर पनि नेतृत्वदायी भूमिका खेलिरहेको बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

नेता गौतमले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको नीति तथा कार्यक्रम र विकासमुखी बजेटका कारण माओवादी र नेपाली काँग्रेस आत्तिएर ओली नेतृत्वको सरकार गिराएको आरोप लगाए ।

उपाध्यक्ष गौतमले जनताको मन जित्ने र जनताको भाग्य सुनिश्चित हुने काम गर्ने पार्टी एमाले नै भएको दाबी गरे ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले अहिले देशको प्रत्येक कुनाकुना र क्षेत्रका नागरिकमा एमालेप्रति आशा, भरोसा र विश्वास जाग्दै गएको भए पनि त्यसलाई परास्त पार्न पश्चगामी शक्तिहरु लागिपरेको आरोप लगाए ।

अर्का उपमहासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आम्दोलनको नेतृत्व एमालेले गरेकाले अबको कम्युनिस्ट आन्दोलनको कार्यभार पूरा गर्न एमाले नै सक्षम रहेको बताए ।

पार्टी सचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनमा सरकार चक्रब्यूहमा फसेको बताउँदै संविधान संशोधनको निहुँमा सरकारले देशमा अस्थिरता निम्त्याउन लागेकाले त्यसको प्रतिरक्षा एमालेले गर्ने बताए ।

अधिवेशनको उद्घाटनसत्रमा पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी अञ्चल इन्चार्ज वैजनाथ चौधरी, पोलिटब्युरो सदस्य राधा ज्ञवाली, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लीला गिरीलगायतले बोलेका थिए ।