१७ पुस, काठमाडौँ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक संविधान विपरीत भएको जनाउँदै त्यसलाई संसद्मा छलफल गर्न नसकिने बताएका छन् ।ishwor-pokhrel-45292314

प्रेस चौतारी नेपाल काठमाडौँले पुस २२ गतेको एमालेको जनप्रदर्शनको सन्दर्भमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान संशोधनको प्रस्ताव सामाजिक सद्भावमा खलल पार्ने, जनभावना विपरीत र असंवैधानिक भएको विचार व्यक्त गरे । नेता पोखरेलले भने, “संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएर टेबल गर्ने प्रयास भइरहेको छ, त्यो हुन सक्दैन, हामी त्यो हुन दिँदैनौँ, किनकि त्यसको आवश्यकता र औचित्य छैन ।”

नेता पोखरेलले संविधान संशोधनका विषयमा एमालेसहित नौ दलले संसद् चल्न नदिए पनि निर्वाचन गर्ने विषयमा भने एमालेले सहयोगी भूमिका निर्वाह गर्ने बताए । उनले सभामुखले राजनीतिक दलहरुलाई असहमतिका विषय र प्रक्रियामा सहमति गर्न गराएको ध्यानाकर्षणलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुरुप दलहरुले प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले संविधान संशोधनको विषयलाई लिएर एमालेले गर्न लागेको जनप्रदर्शन सफल पार्न सबैसँग आग्रह गरे । एमालेले पुस २२ गते काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गर्ने तयारी भएको छ । विभिन्न ३३ स्थानबाट पदयात्रा निकाल्ने बताइएको छ । रासस