फागुन २०, काठमाडौं । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र निर्वाचन नचाहने अतिवादी प्रवृत्तिको केन्द्र एउटै भएको बताएका छन् ।

अाज काभ्रेको कामीडाँडामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘मुलूक खुकुरीको धारमा भएको बेला प्रधानमन्त्रीको जिम्मेवारी लिएको छु । संविधान कार्यान्वयन गर्ने चुनौति हाम्रोसामू छ । एकथरि मान्छेहरु कुनै हालतमा संविधान संशोधन हुनै हुन्न भन्छन्, अर्कोथरि मान्छेहरु चुनाव हुनै दिन्नौं भन्छन् । एउटा हिङ नभए खानै नबस्ने, अर्को हिङ भए भित्रै नपस्ने । यी दुई अतिवाद नै मुलूकको प्रमूख समस्या हो । संशोधन र निर्वाचन नचाहने शक्तिहरु एउटै हेडक्वार्टरबाट परिचालन त छैनन् ? व्यवहार हेर्दा त्यस्तै लाग्छ ।’


स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘अहिले स्थानीय तहको निर्वाचन नगर्ने हो भने मंसीरमा प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिँदैन । संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय तहको निर्वाचन नहोस् भन्नेमै छन् । सिंहदरबारको अधिकार गाउँ, टोलसम्म पुगेको उनीहरु देख्न चाहँदैनन् । त्यसैले स्थानीय तहको निर्वाचन कुनै हालतमा रोकिँदैन, रोक्न सकिँदैन ।’