९ असोज, काठमाडौं । संसद्बाट ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयकको दफावार छलफलमा भाग लिदै एमालेका डा गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र नभई प्राधिकरण बनाउन सुझाव दिए ।

माओवादी केन्द्रका हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुसार विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्ने बताए । गृहमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राकृतिक जोखिम न्यूनीकरण गर्न विधेयक ल्याएको बताए ।

यस्तैगरी संसदमा आजै विधायन समितिका सभापति गंगा चौधरीले विभिन्न पाँचवटा प्रतिवेदन, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७२÷०७३ को समीक्षा प्रतिवेदन पेश गरेका छन् ।