६ भदौ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जे कुरामा पनि सरकारले प्रतिपक्षलाई दोष दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘डाक्टर केसी अनशनमा पनि एमाले दोषी, हुँदाहुँदा संविधान संसोधन पास नहुनुमा पनि एमाले दोषी ? सरकारले पास हुँदैन भन्ने जान्दाजान्दै संविधान संसोधन विधेयक ल्याएको भन्दै ओलीले त्यसको जिम्मेबार सत्तापक्ष हुनुपर्ने जिकिर गरे ।

बाढी पीडितलाई राहत र उद्दारमा सरकारले चासो नदिएको भन्दै ओलीले राहत वितरण र अनुगमनमा एमालेलाई दोषी देखाउँदै सत्तापक्षले राजनीति गरिरहेको आरोप लगाए ।

बाढी पहिरोले बाटो बिगारेको छ, सरकार हेलिकोप्टर चढेर बाढी पीडितकहाँ पुग्छ, अनि आफ्नै हेलिकप्टर चढेर गएको जस्तो एमाले आएन, प्रतिपक्षी जिम्मेबार भएन भनेर अनर्गल प्रचार गर्ने काम गरिरहेको छ ।

उनले अगाडि थपे, स्रोत साधन पनि आफ्नै जस्तो गरेको छ, राहत पनि गोजीबाटै दिएको जस्तो गरेको छ, यो सबै राज्यको हो भन्ने कुरा हेक्का राख्नुपर्यो ।

प्रतिपक्षलाई राहत वितरणमा नलगेर भ्रम छरेर आउने गरेको ओलीको आरोप थियो । अर्को प्रसङ्गमा अध्यक्ष ओलीले मंसिर १० गते बाँकी दुवै चुनाव एकैचरणमा गर्ने भनेर निर्णय गरेपनि सरकारले निर्वाचन कानुन दिन नसकेको भन्दै आपत्ति जनाए ।

प्रदेश सभा र प्रतिनिधिसभा चुनाव ऐन चाहियो भनेर निर्वाचन आयोगले भनिरहेको छ दुबै अहिलेसम्म छैन ओलीले भने, यो हाम्रो कारणले होइन, किन चाहिने ऐन नियमहरु संसदमा ल्याउनुहुन्न, ओलीले भने, सत्तापक्षभित्र के खिचडी पाक्दैछ ? ओलीले अधिकांश समय सत्तापक्षको आलोचनामा खर्चिएका थिए ।