८ माघ, काठमाडौं ।

सांसदहरूले तत्काल निर्वाचन कानुन बनाई मिति घोषणा गर्न सरकारलाई दबाब दिएका छन् । आगामी एक वर्षभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै सांसदहरूले शुक्रबारको व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइप्रति विरोध जनाएका थिए ।

सत्तापक्ष र विपक्षी दलका सांसदहरूले तत्काल कानुन पारित गराउन र निर्वाचनको कार्यतालिका बनाउन सरकारलाई दबाब दिएका हुन् । सरकार निर्वाचनको विषयमा उदासीन रहेको आरोप उनीहरूले लगाएका छन् ।

– कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

– एमाले सांसद भीम रावलले सरकारले संविधान संशोधनको बेमौसमी बाजा बजाएर निर्वाचनको प्राथमिक विषयलाई भने नजरअन्दाज गरिरहेको आरोप लगाए ।

– माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरे ।

– राप्रपाका सांसद पर्शुराम तामाङले आफ्नो पार्टी निर्वाचनमा जान हतारिएको भन्दै स्थानीय तहसहितका निर्वाचनहरूको मिति घोषणा गर्न माग गरे ।

– सांसद गंगा चौधरी सत्गौवाले थारूहरूको माग सम्बोधन नगर्ने हो भने अर्को टीकापुर घटना दोहोरिने चेतावनी दिइन् । चौधरीले टीकापुर घटनाका क्रममा पक्राउ परेका र अभियोग लगाइएका २२ जनालाई आममाफी दिनुपर्ने माग गरिन् ।

भारतको चुनाव गर्न खोजेको हो र ?
नेमकिपा सांसद प्रेम सुवालले भारतीय नागरिकलाई नेपालको मतदाता नामावलीमा समेटेर भारतको चुनाव गर्न खोजिएको आशंका व्यक्त गरे । उनले ४० लाख भारतीयले नेपालको नागरिकता प्राप्त गरेको र त्यही नागरिकताका आधारमा मतदाता नामावलीमा नाम संकलन गरिएको भन्दै विरोध गरे ।

एयरमार्सल मागेको भन्दै विरोध
एमाले सांसद भीम रावलले भारतले एयरमार्सल माग गरेकामा संसद् बैठकमा विरोध गरे । उनले एयरमार्सल भारतले माग गरेको हो भने त्यसले मुलुकको राष्ट्रिय सुरक्षामा ठूलो चुनौती थपिएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।