२९ माघ, काठमाडौं । अब व्यवस्थापिका–संसद्को बैठक बस्नुअघि नै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष गरेका छन्। हरिसिद्धिस्थिति माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवासमा शुक्रबार ओलीसँग भएको बैठकमा प्रधानमन्त्री दाहालले फागुन ८ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन्। हाल स्थगित संसद् बैठक फागुन १० गते बस्नेछ।

स्थानीय तह पुनःसंरचना प्रतिवेदनमाथिको सुझाव ८ गते निर्वाचन आयोगलाई बुझाइने र बुझाएलगत्तै प्रधानमन्त्री दाहालले निर्वाचन मिति घोषणा गर्ने जानकारी गराएको श्रेष्ठले बताए। ‘प्रधानमन्त्रीज्यूले फागुन ८ गतेभित्रै चुनाव मिति घोषणा गर्ने जनाउँदै संविधान संशोधन प्रक्रियामा सहयोग गर्न ओलीजीसँग अनुरोध गर्नुभयो,’ श्रेष्ठले भने, ‘वैशाख अन्तिम साताभित्र चुनाव गर्ने तयारीमा सरकार रहेको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको छ।’ उनका अनुसार जेठ १ गतेअघि नै मिति राखेर स्थानीय तहको निर्वाचन गर्नेबारेमा प्रमुख दलबीच कुराकानी भइरहेको छ।

निर्वाचन मिति घोषणा नगरेको भन्दै आक्रोशित हुँदै आएको एमालेलाई सो विषयमा विश्वस्त तुल्याए पनि प्रधानमन्त्री दाहालले संविधान संशोधनमा भने अझै सहमति जुटाउन सकेका छैनन्। सरकारले निर्वाचन मिति घोषणा गर्ने र एमालेले संशोधन प्रक्रियामा सकारात्मक भइदिनुपर्ने प्रधानमन्त्री दाहालको प्रस्तावलाई भने ओलीले अस्वीकार गरेका छन्।

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलका अनुसार निर्वाचन मिति घोषणा गर्नका लागि पुनः अडान राखिएको जानकारी दिए। ‘उहाँले चुनावको मिति चाँडै घोषणा गर्छु भनेर हामीसँगको भेटमा भन्नुभएको छ, तर हामी अझै पनि ढुक्क छैनौं,’ रिपोर्टर्स क्लब पुगेका रावलले भने, ‘यति हुँदाहुँदै पनि हामी चुनाव मिति घोषणा चाँडै होस् भन्ने पर्खाइमा छौं।’ उनका अनुसार निर्वाचन मिति घोषणा नगरे यो सरकार गठनको औचित्य सकिने भन्दै दाहालको ध्यानाकषर्ण बैठकमा गराइएको थियो।

प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना प्रतिवेदनमाथि अध्ययन गरी सुझाव दिन मन्त्रिपरिषद्ले बनाएको समितिलाई सक्रिय बनाएका छन्। संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, उद्योगमन्त्री नवीन्द्रराज जोशी र दीपक बोहोरा सम्मिलित समितिले फागुन माघ् १ गते सप्तरी, २ गते सिरहा, धनुषा, महत्तरी र ३ गते सर्लाही, बारा, पर्सा र रौतहटका सांसद र सरोकारवालासँग छलफल गर्ने भएको छ।

मुख्यतः २ नम्बर प्रदेशका सांसद र सरोकारवालासँगको छलफलपछि सो समितिले माघ ७ गते मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाउनेछ। सो प्रतिवेदन ८ गते निर्वाचन आयोगलाई हस्तान्तरण गरिने जानकारी प्रधानमन्त्री दाहालले गराएका छन्। ‘अब संसद् बैठक बस्नुअघि निर्वाचन मिति घोषणा गर्नेछु र संसद् बैठक सुरु भएपछि संविधान संशोधन प्रक्रिया अघि बढाउने छु’, बैठकमा दाहालले भनेका थिए। आजको नागरिकमा खबर छ ।