४ जेठ, काठमाडौं ।

संसदको चालु हिउँदे अधिवेशन आजैदेखि अन्त्य हुने भएको छ । सरकारले आजदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । कार्यवाहक राष्ट्रपतिले आजै संसद अधिवेशनको पत्र संसदलाई पठाउने छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य र आब्हान गर्ने व्यवस्था छ । सरकारले आजै अधिवेशन अन्त्य गर्ने पत्र राष्ट्रपतिलाई पठाएको छ । राष्ट्रपति देश बाहिर रहेकाले उपराष्ट्रपतिले संसद अधिवेशन अन्त्यको पत्र संसदलाई पठाउनेछन् ।

संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।

आजको संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसद अधिवेशन अन्त्यसँगै तत्कालका लागि संविधान संसोधन विधेयक र संसदमा पेश भएको प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको प्रस्ताव पनि अलपत्र पर्ने देखिएको छ ।