१५ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावका लागि उमेद्बारी मनोनयन गर्न चार दिन मात्रै बाँकी छ । तर अहिलेसम्म स्थानीय चुनाव हुने नहुने अन्यौल नै छ ।

तर यदि संविधान संसोधन प्रस्ताव पास भयो भने र स्थानीय तहको संख्या बढाइयो भने मधेशी मोर्चाले पहिलो चरणको चुनावमा के गर्ला ? यो चासोको विषय छ । आफूलाई राष्ट्रिय दलको दाबी गर्ने मोर्चा आवद्ध दलहरुले चुनावमा सहभागी हुने बताइरहेका छन् ।

त्यसका लागि तीन दिन भित्र संविधान संसोधन र स्थानीय तह थप्ने निर्णय भइसक्नुपर्ने मोर्चाको अडान छ । यहि १९ गते पहिलो चरणको चुनावका लागि उमेद्बारी दिनुपर्ने भएकाले त्यसअघि दुइवटै माग पूरा हुनुपर्ने राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले बताए ।

‘अब हामी सहमतिको भर पर्दैनौं, यादवले भने, माग पूरा भयो भने पहिलो चरणको चुनावमै हामी सहभागी हुन्छौं । राजपा नेपालका अर्का नेता अनिल झाले पहाडमा आफूहरुको संगठन कमजोर रहेकाले सहभागिता जनाउने हिसाबले पहिलो चरणको चुनावमा जान सकिने बताए ।

त्यसका लागि सरकारले आफूहरुको माग चुनाव अघि नै पूरा गर्नुपर्ने उनको भनाई छ । तर राजपाकै अर्का नेता मनिष कुमार समुन भने स्थानीय चुनाव तत्काल स्थगित गरेर आगामी कात्तिकमा सोझै केन्द्रको चुनाव गर्नुपर्ने बताउँछन् ।

नेपाली हेडलाइन्ससँगको कुराकानीमा सुमनले भने, कि त हामीलाई पहिलो चरणको चुनावमा चाहिँ भाग नलिउ भन्नुपर्यो, होइन भने सोझै केन्द्रको चुनाव गर्ने विषयमा पार्टीको यहि १९ गते बस्ने बैठकले निर्णय गर्नेछ ।