४ भदौ, काठमाडौं ।

संविधान संसोधन विधयेकमाथि आज संसदमा दफावार छलफल हुने भएको छ । गएको बुधबार संसदमा प्रस्तुत गरिएको विधयेकमाथि परेका संसोधनमाथि आज दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ । विधेयकमाथि ५० सांसदले संसोधन हालेका छन् ।

संसोधकर्तासँगै अन्य इच्छुक सांसदले पनि बोल्न पाउने भएकाले विधयेकलाई भोली मात्रै भोटिङमा लैजाने तयारी छ । विधेयक पास हुनका लागि संसदमा कायम रहेको ५ सय ९२ सांसदमध्ये दुई तिहाई अर्थात ३ सय ९५ मत आवश्यक पर्छ । त्यसैले प्रमुख प्रतिपक्षी एमाले, कमल थापा नेतृत्वको राप्रपा र साना दलहरुको समर्थन विना दुई तिहाई पुग्दैन । सत्तारुढ दलहरुले थापा नेतृत्वको राप्रपा, र केही साना दलहरुलाई आफूतिर तान्ने प्रयास गरेका छन् ।

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग राखेका केही मन्त्रालय दिएरै भएपनि संसोधनको पक्षमा ल्याउने तयारी गरेको छ । अहिले संसोधनमा दुई तिहाई पु-याउनका लागि सत्तापक्षलाइ जम्मा २२ मत अपुग छ । ३ सय ९५ मत आवश्यक पर्नेमा सत्ता पक्षसँग अहिले ३ सय ७३ र विपक्षमा २ सय २० मत छ ।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालले एमालेसहित संसोधनको विपक्षमा रहेका दलहरुलाई संसदबाटै पक्षमा मतदान गर्न आग्रह गर्ने भएको छ । सबैलाई चिठी पठाएर सहयोग गर्न आग्रह गर्ने तयारी गरेपनि अध्यक्ष मण्डलका नेताहरु बाढी प्रभावित क्षेत्रमा रहेकाले नसकिएको राजपाले जनाएको छ । अब भोलि भोटिङ गर्नु अघि समय पाए संसदमा बोल्दै एमालेसहितका दलको सहयोग माग्ने राजपा महासचिव मनिष सुमनले बताए ।