६ भदौ, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन विधेयक पारित नभएपनि असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने स्पस्ट पारेको छ ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा संसदमा भएको मतदानमा दुई तिहाइ मत नपुगेपछि आज काठमाडौमा सुरु पदाधिकारी सहितको कार्यसमिति बैठकले निर्वाचनमा सहभागी हुने गरि रणनीति तयार गर्न लागेको महासचिव केशाव झाले जानकारी दिए ।

संसदबाट संविधान संशोधन विधेयक पारित नभएपनि अर्को पटक दुई तिहाइ मत पु¥याएर संविधान संशोधन विधेयक पारित गर्ने महासचिव झाले बताए ।

राजपाले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने तयारी समेत गरेको छ ।

झाले कांग्रेस–माओवादी गठबन्धनसँगको सहकार्यलाई केन्द्र र प्रदेशको चुनावमा पनि निरन्तरता दिने बताए । प्रमुख प्रतिपक्ष नेकपा एमालेकै कारण संविधान संशोधन विधेयक पारित नभएको भन्दै राजपाले एमाले तराई–मधेसविरोधी दल रहेको पुष्टि भएको पनि आरोप लगाएको छ ।