२४ वैशाख, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताएका छन ।

नेपाल लोकवार्ता समाजले शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले पहाड, तराई तथा मधेसमा रहेका फरक फरक संस्कृतिनै देशको पहिचान भएको बताए ।

उनले नेपालमा सन् १९६७ मा संस्कृतिसम्बन्धी नियम बनेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको र १०० भन्दा भाषाभाषीको संस्कृतिले देशको गौरवलाई उँचो बनाएको विचार राखे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्कर अधिकारीले नेपालको संस्कृतिमा आफ्नै विशेषता रहेको बताउँदै बहुसांस्कृतिक र बहुभाषिक नेपाली समाजले पहिचानको प्रत्याभूतिका लागि राज्यमा दबाब सिर्जना गरेको चर्चा गरे ।

समाजका अध्यक्ष तुलसी दिवसको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार अभि सुवेदी, प्रा चूडामणि बन्धुले नेपाली संस्कृतिको मौलिकताबारे चर्चा गरेका थिए ।

कार्यक्रममा संस्कृतिविद् जोशीले धिमाल लोकवार्ता तथा लोकजीवन र डिस्कोर्ष अन फोल्क नामक अङ्ग्रेजी पुस्तक विमोचन गरेका थिए । रासस