९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय गरेको विरोधमा चौतर्फी आलोचना भइरहेका बेला प्रमुख विद्यासुन्दर शाक्यले भने गलत ढंगले ब्याख्या गरिएको बताएका छन् ।

उनले मोबाइल खरिदको निर्णय व्यक्तिगत प्रयोजनको लागि नभई संस्थागत प्रयोगको लागि मात्र खरिद गर्न लागिएको स्पष्ट पारे । निर्णयको पार्टी भित्रै पनि चर्को आलोचना भइरहेका बेला शाक्यले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिक इस्यु नबनाउन आग्रह गरे ।

‘मोबाइल खरिद निर्णय जनताको प्रत्यक्ष सम्पर्कको लागि गरिएको हो,’ शाक्यले भने– ‘मोबाइल किनेर दिने कुरामा विवाद गर्नुपर्ने कुरा नै होइन् । तर यसलाई राजनीतिक रुपमा लिइयो । दुःख लागेको छ ।’

जनतासँग निरन्तर सम्पर्कमा रहिरहन यस्तो निर्णय गरिएको भन्दै शाक्यले नम्बर परिवर्तनबाट जनताले सास्ती भोग्नु नपरोस भन्नका लागि यस्तो निर्णय गरिएको बताए ।

उनले यसअघि पनि मोबाइल खरिद गर्ने प्रचलन रहेको भन्दै थपे– ‘अरुले गुपचुप निर्णय गर्थे । हामी पारदर्शी भयौं । निर्णय गरेकै दिन सार्वजनिक गर्दा विरोध र आलोचना गरियो ।’ काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको दोस्रो बैठकले मेयर र उपमेयर निर्वाचित जनप्रतिनिधिलाई मोबाइल किन्ने र सीम सहित हस्तान्तरणको निर्णय गरेको थियो ।