• हाम्रो अभियानलाई अवरोध गर्न पुल मुनि कुकर बम राख्ने काम भएको छ ।
  • मधेसी जनता मधेसी मोर्चामा मात्र आबद्ध छैनन्, कांग्रेस, एमाले र माओवादीमा पनि छन् ।
  • तराईमा एमालेले आन्दोलन थाल्दा मधेसी मोर्चाको भ्रुण पनि थिएन ।
  • मन्दिरमा पुजा गरिरहेको साधु पनि आफू माथि आक्रमण हुन्छ भने ज्यानको रक्षाका लागि प्रतिवाद गर्छ ।

राष्ट्रिय एकता, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचनको माहोल निर्माण गर्न भन्दै नेकपा एमालेले फागुन २१ गतेदेखि मेची–महाकाली अभियान थालेको छ । झापाबाट सुरु भएको अभियान सोमबार सप्तरी सम्भावित झडपको स्थिती देखा पर्यो ।

एमाले संविधान संसोधन र मधेस विरोधी भएको आरोप लगाउँदै मोर्चाले अवरोध गर्न प्रयास गरेको थियो । तर मोर्चाको अवरोधकै बीच एमालेले सप्तरीमा सभा गरेको छ । यसै सन्दर्भमा नेपाली हेडलाइन्सका लागि प्रयास पराजुलीले नेकपा एमाले प्रदेश नम्बर २ का संयोजक एवं सांसद सत्यनारायण मण्डलसँग कुराकानी गरेका छन् :

तपाईहरुले सुरु गरेको मेची–महाकाली अभियानमा त मधेसी मोर्चाले अवरोध गर्यो नि होइन ?

लोकतान्त्रिक मुल्य मान्यता विपरित मधेसी मोर्चाले अभियानमाथि अवरोध गर्ने कोशिस गरेको छ । राजविराजमा हाम्रो अभियानलाई अवरोध गर्न पुल मुनि कुकर बम राख्ने काम भएको छ । यो मधेसी मोर्चाको फासीवादी चरित्र हो । जनताले एमालेप्रति देखाएको समर्थनले मधेसी मोर्चा आत्तिएको उपज हो ।

मधेसी जनता मधेसी मोर्चामा मात्र आबद्ध छैनन् । कांग्रेस, एमाले र माओवादीमा पनि छन् । लोकतन्त्रमा स्वतन्त्रतापूर्वक कार्यक्रम गर्न पाइन्छ । तर निषेधको राजनीति गर्ने छुट कसैलाई पनि छैन् ।

कालो झण्डा देखाउदा प्रहरीले हस्तक्षप गर्दा परिस्थिति असहज बन्यो भन्ने छ नि । के हो वास्तविकता ?

विरोध गर्न कालोझण्डा देखाउन पाउँछन् । तर कार्यक्रम विथोल्नको लागि बम राख्ने कुरा स्वीकार्य हुने कुरा होइन । लोकतन्त्रमा सबैले कार्यक्रम गर्ने अधिकार छ । विचार नमिल्ने वित्तिकै बम राख्ने फासीवादी हुन् । विचार नमिल्ने वित्तिकै कार्यक्रम नै गर्न नदिने भन्ने मधेसी मोर्चाको नियत मै खोट छ । लाठी लिएर निस्कने, बम राखेर आतंक मच्चकाउन खोजेका छन् । यो सह्य हुन सक्दैन ।

अभियानमा सरकारले कतिको सुरक्षा दिइरहेको छ ?

एमालेलाई मधेसमा निषेध गर्न गृहमन्त्रीले नै मधेसी जनतालाई कुटेर लखेट भनेर निर्देशन दिनुले पनि मधेसी मोर्चा अलि उग्र भएको देखिन्छ । यसबाट सत्ताधारी दलहरुले एमालेको विरुद्धमा मधेसी मोर्चालाई परिचालन गरेको हो कि भन्ने आशंका जन्माएको छ । सरकारको नियत नै राम्रो देखिदैन ।

मधेसी मोर्चाले एमालेका कार्यकर्ताले गाउँगाउँबाट रिर्जभ गरेको गाडी जलाइदिने धम्की दिएका छन् । अभियानमा सहभागि हुने महिलाको अस्मिता लुटने धम्की दिएका छन् । गाउँगाउँमा तेलको अभाव सृजना गरिएको छ । मधेसी मोर्चाले सक्छ भने युद्धको घोषणा गरेर आओस । होइन भने यस्ता गलत धाक धम्की दिने काम बन्द गरोस् । मोचोको यो कुन मानविय लोकतन्त्र हो ?

मधेसी मोर्चाले एमालेलाई पहिचान विरोधीको रुपमा आरोप लगाउदै आएको छ नि ?

सिके राउतका कार्यकर्ता देश टुक्रयाउन पाउनु पर्छ भनेर नारा लगाइरहेका छन । देश टुक्रयाउने अभिव्यक्ति दिने छुट कसैलाई पनि छैन । देशको राष्ट्रियता, देशको अखण्डताको रक्षा गर्ने काममा एमालेले ठूलो त्याग र वलिदान गरेको छ । मधेसमा जमिनदार माथिको अन्याय र अत्याचारको विरुद्ध एमालेलेले आन्दोलन थाल्दा मधेसी मोर्चाको भ्रुण पनि थिएन । एमाले देश र जनताको हितमा लड्ने पार्टी हो । एमाले पहिचान विरोधी हुन सक्दैन । यो आरोपमा सत्यता छैन् ।

अभियानमा अवरोध जारी रहे तपाईहरु के गर्नुहुन्छ ?

राष्ट्रियता, पहाड–तराईको सदभावलाई झन बलियो बनाउन, संविधान कार्यान्वय गर्नको लागि मेची–महाकाली अभियान सुरु गरेको हो । कसैको विरुद्ध सुरु गरेको अभियान नभई राष्ट्रियतको सवालमा जनतालाई जानकारी गराउने हो ।

राजनीतिमा सधै सहज हुँदैन । कहिलेकाही असहज परस्थितिको पनि सामना गर्नुपर्ने हुन्छ । हामी शान्तिपूर्ण रुपमा अभियान अगाडि बढाइरहेका छौं । मन्दिरमा पुजा गरिरहेको साधु पनि आफू माथि आक्रमण हुन्छ भने ज्यानको रक्षाका लागि प्रतिवाद गर्छ ।

यो पढ्नुस्।

ओलीको बोलीले एमालेले दुःख पायोः महेन्द्र यादव