१५ मंसिर, काठमाडौं । सङ्गीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले शास्त्रीय सङ्गीतका दुई स्रष्टालाई सम्मानित गरेको छ ।

प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा ‘सङ्गीत प्रवीण नरराज ढकाल पुरस्कार–२०७३’ बाट वरिष्ठ गायिका रत्नकुमारी गुरुङ तथा ‘नरराज–रामेश्वर युवा सङ्गीत पुरस्कार–२०७३’ बाट युवा तबलावादक लक्ष्मीप्रसाद डङ्गोललाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त, सङ्गीतज्ञ मोहनप्रसाद जोशी, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, प्रतिष्ठानका संरक्षकसमेत रहनुभएकी स्व ढकालका धर्मपत्नी ज्योति ढकाललगायतले नगदसहित सम्मान गरे । सो क्रममा गायिका गुरुङलाई रु २० हजार तथा तबलावादक डङ्गोललाई रु १० हजार प्रदान गरियो ।

सङ्गीत प्रवीण ढकालको ९६ औँ जन्मजयन्ती तथा प्रतिष्ठानको छैटौँ वार्षिकोत्सवका अवसरमा उहाँकै पुस्तक ‘सङ्गीत–सुरस’को दोस्रो संस्करणको लोकार्पणसमेत गरियो । सो पुस्तक शिशुदेखि स्नातकोत्तरसम्मका सङ्गीतका विद्यार्थीका लागि उपयोगी रहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सङ्गीत प्रवीण ढकालले नेपाली सङ्गीतको आधारशीला खडा गर्न अहम् भूमिका खेलेको बताएउनुभयो । समीक्षक प्रकाश साय्मीले स्व ढकाललाई नेपाली सङ्गीतका विरासतको सङ्ज्ञा दिँदै चार वर्षपछि आउन लागेको उनको शतवार्षिकीलाई राज्यस्तरबाटै मनाउनुपर्ने माग राखे ।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका स्व ढकालका सुपुत्र प्रभूराज ढकालले सङ्गीत क्षेत्रका राष्ट्रियस्तरका ठूल्ठूला पुरस्कार शास्त्रीय सङ्गीतकर्मीले नपाउने गरेकाप्रति दुःखेसो पोखे ।