काठमाडौं १ जेठ ,प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले सञ्चारमाध्यमभित्र पछिल्लो समय मौलाएको विकृति अन्त्य गर्न मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याउनुपरेको बताएका छन् ।

सञ्चारमाध्यमलाई कसरी बलियो र शक्तिशाली बनाउने भन्नेमा सरकार सचेत रहेको भन्दै उनले मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यममा रहेको बेथिति अन्त्य गर्ने विश्वास व्यक्त गरे। दाङको घोराहीमा रहेको रेडियो मध्यमपश्चिमको १३औँ वार्षिकोत्सवका अवसरमा उनले स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रेसलाई बलियो बनाउन सरकार लागिपरेको बताए।

“मिडियालाई बलियो बनाउन राज्यले यो विधेयक ल्याएको हो, त्यसमा प्रेसलाई सङ्कुचनमा पार्ने कुनै बुँदाहरु छ्रैनन्”, उनले भने, “के प्रेसमा बेथिति छैन ? सञ्चारमाध्यममा रहेको बेथिति हटाउन के गर्ने ?” राज्य कमजोर भयो भने लोकतन्त्र अप्ठ्यारोमा पर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले जनता बलियो भएमात्रै राज्य बलियो र शक्तिशाली हुने बताए। लोकतन्त्र प्राप्तिका लागि प्रेसले विगतमा खेलेको भूमिका अतुलनीय रहेकाले राज्यले प्रेस स्वतन्त्रतामा कुनै आँच नपु¥याउने गरी काम गर्ने बताए।

प्रदेशमा विकास र समृद्धिको आधार निर्माण हुन थालेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले सात वटा प्रदेशमध्ये प्रदेश नं ५ अग्रस्थानमा आउने गरी काम गरेको बताए । उनले कानून निर्माण, आवधि योजना निर्माण, बजेट खर्च, कर्मचारी समायोजनमा सबैभन्दा अगाडि रहेको उल्लेख गरे । रासस