१ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यका भित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

आज सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजना लगायतका सरोकारवाला निकायका मन्त्रीहरु, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार काठमाडौको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलले बगाएर निधन भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्यान नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न समेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न निर्देशन दिएका छन् ।