२ मंसिर, काठमाडौँ  । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ सफाइ कार्यक्रम अन्तर्गत चक्रपथ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको छ ।

हरेक शनिबार चक्रपथ सफाइ अभियान थालेका महाशाखाले आज सानोभर्याङ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक अतिक्रमण गरी निर्माण भएका र राखिएका भौतिक संरचनालाई हटाउने काम गरिएको बताए। “कोटेश्वरदेखि कलंकीसम्म चीन सरकारले चक्रपथ निर्माण गर्ने भएपछि महाराजगञ्जदेखि कलंकीसम्म सफाइ हामीले गरेका हौँ,”– उनले भने।

महाशाखाले दशैँ अगाडिदेखि चक्रपथ सफाइ अभियानलाई निरन्तरता दिएको छ । चक्रपथ सुधार तथा ट्राफिक व्यवस्थापनमा यो अभियानले सहयोग पुग्ने महाशाखाले जनाएको छ ।

यसैबीच आज नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय संघ संस्थाको सहयोगमा वाग्मती सरसफाइ अभियानअन्तर्गत आर्यघाट पारी राममन्दिर क्षेत्रमा पनि सरसफाइ गरिएको छ ।  रासस