४ मंसिर, इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार भएको सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । खैरपुर भन्ने ठाँउमा कोइला ढुवानी गर्न लागिएको ट्रकसँग यात्रुबाहेक भ्यान ठोक्किएर दुर्घटना भएको प्रहरी सहायक उपरीक्षक राई माझर इक्वालले जानकारी दिए ।

दुर्घटनामा परेको भ्यान र त्यसमा थिचिएर मृत्यु भएका तथा घाइते भएका यात्रुहरूलाई प्रहरी र उद्धारकर्ताहरूले निकालेको प्रहरी अधिकारीले बताए । खैरपुर जिल्ला अस्पतालका मेडिकल सुररिटेण्डेन्ट गुलाम सुम्रोले अस्पतालमा दश जनाको शव र पाँच जना घाइते ल्याएको जानकारी दिए ।

उनले घाइते मध्ये थप तीन जनाको अस्पतालमा आएपछि मृत्यु भएकाले मृत्यु हुनेको संख्या २० पुगेको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको बताए । यात्रुबाहक भ्यान सुक्कुर जिल्लाबाट खैरपुर जिल्लातर्फ आइरहेका बेला दुर्घटना भएको बताइएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको दोषी देखिएका ट्रकका चालकका विरुद्धमा मुद्धा दायर गरेको छ ।
प्रहरीले अत्यधिक धेरै भार बोकेको ट्रकले यात्रु बाहक भ्यानलाई उछिन्न खोजेपनि नियन्त्रण गुमाएर उछिन्न नसकेपछि दुर्घटना भएको जनाएको छ । ट्रकले भ्यानलाई किचेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

पाकिस्तानमा हरेक बर्ष नौ हजार सडक दुर्घटना हुनेगरेको सरकारी तथ्याङ्क छ । ती दुर्घटनाहरुबाट सन् २०११ देखि यता औषतमा बर्षेनी चार हजार ५०० जनाको मृत्यु हुनेगरेको छ । ट्राफिक प्रहरीले पाकिस्तानमा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना मानवीय त्रुटीका कारण हुनेगरेको पाइएको बताएको छ ।