११ वैशाख, काठमाडौं ।

सुपरस्टार लियोनेल मेसीको सनसनीपूर्ण गोलमा विश्वचर्चित इएल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । आज बिहान सकिएको खेलमा बार्सिलोनाले परम्परागत र प्रतिस्पर्धी रियल म्याड्रिडलाई ३–२ ले पराजित गरेको हो ।

२८ औं मिनेटमा डिफेन्डरको गल्तीको फाइदा उठाउँदै कासिमेरोले गोल गरेपछि रियल आफ्नै मैदानमा एक शुन्य गोलको अग्रता दिलाउन सफल भयो । तर, रियलको यो अग्रतालाई बार्सिलोनाका मेसीले एकल प्रयासमा डिफेन्डरको धज्जी उडाउँदै ३३ औं मिनेटमा गोल गरेर खेलमा १–१ गोलको बराबरी गरे ।

पहिलो हाफसम्म खेल बराबरीमैं टुंगियो । दोस्रो हाफमा बार्सिलोनाले सुन्दर मौका गुमाउन पुग्यो भने मेसी, सुवारेजको उत्कृष्ट प्रयासलाई रियलमा किपर नाभासले विफल तुल्याइरहे ।

७३ औं मिनेटमा मेसीकै पासमा राकटिकले उत्कृष्ट गोल गरेपछि बार्सिलोना जिततर्फ लम्कियो । लगत्तै ७७ औं मिनेटमा मेसी गोलका लागि अगाडि बढ्दै गर्दा गम्भीर ट्याकल गर्दा सजिर्यो रामोसले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भयो । तर, पनि उसले हिम्मत हारेन । सब्सिच्युट खेलाडी जेम्स रोड्रिगेजले ८५ औं मिनेटमा गोल गरेपछि रियलले २–२ अवस्थामा खेल पुर्यायो । ९० मिनेटसम्म यही नतिजा भइरह्यो । खेलमा तीन मिनेट थपेर दुई मिनेट सकिएलगत्तै डिएरियाभित्र पाएको बललाई मेसीले सुन्दर ढंगमा जाली चुमाएपछि रियल लालिगा उपाधिको होडको महत्वपूर्ण खेलमा पराजित हुन पुग्यो ।

हारेपछि रियल दोस्रो स्थानमा
अब लिगमा रियल र बार्सिलोनाको दुवैको ७५÷७५ अंक भएको छ । यस्तोमा हेडटुहेडका आधारमा बार्सिलोना रियलभन्दा अगाडि छ । तर, रियलले एक खेल कम खेलेको छ । रियलले अब लिगमा ६ खेल बाँकी छ भने बार्सिलोनाले पाँच खेल्न बाँकी छ ।