९ साउन, काठमाडौं ।

सिंगापुरमा जारी १९ वर्ष मुनिको आइसीसी विश्वकपको एसियाली छनौट प्रतियोगितामा नेपालीले मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको हो ।

मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्बाधिक ३४ रन बनाएर नट आउट रहे । ओपनर सन्दिप सुनारले १५, अनिल शाहले १२ र प्रनित थापामगरले ८ रन बनाए ।

बलिङमा चम्केको नेपालले आज पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन । १० ओभरमा ३६ रन बनाउँदा नेपालले तीन विकेट गुमाइसकेको थियो भने अदिल शान र प्रकाश केसीले खाता नै खोल्न सकेनन । नेपाललाई उकास्न दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ५२ रनको साझेदारी गरे पछि नेपालले सहज जित हात पार्यो ।

नेपालले टस जितेर ब्याटिङको निम्तो पाएको मलेसियाले ३५.१ ओभरमा अल आउट हुँदै ८९ रन बनाउन सफल भयो । मलेसियालाई धरासायी बनाउने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले महत्वपूर्ण ७ विकेट लिए । त्यस्तै शाहव आलमले २ र रिजन ढकालले १ विकेट हात पारे ।

नेपालले आफ्नो अन्तिम खेल भोली अफगानिस्तानसँग खेल्नेछ । न्युजिल्याण्डमा हुने आइसीसी अण्डर १९ विश्वकपका लागि नेपालले भोलीको खेल जित्नै पर्नेछ । यसअघि भएको खेलमा नेपाल अफगानिस्तानबाहेक सबै खेल जितेको छ ।

अफगानिस्तानसँग भने नेपाल १४१ रतले पराजित भएको थियो । अफगानिस्तानले खेलेका सबै खेल जितेर १० अंकका साथ शिर्ष स्थानमा छ भने नेपाल ८ अंक सहित दोस्रो स्थानमा छ ।