सुभाष चन्द्र पोखरेल

भट्टिमा पाक्दा-पाक्दा
खैरो माटो
रातो ईटा बने झै !

भट्टिको ताप्,
मधेश को राप अनि
गरीबी को चापले
उस्को शरिर पनि
कालो- निख्खर कालो !

यो निख्खर कालो तर तिख्खर मान्छेलाई
ईटा भट्टानै दिन रात
र ईटाभट्टा नै रात दिन हो !

हजारौ हजार ईटा भट्टामा हुल्यो
हजारौ हजार ईटा भट्टाबाट झिक्यो !
र पनि उसलाई
कुनै हिसाब वा अन्दाज छैन
एउटा घर बनाउन कती ईटा चाहिन्छ ?

उ र उ जस्तै काला तर फुर्तिला मान्छेका लागी
घर भनेकै काँचो ईटाको झुप्रो न हो !
यस्तै काँचा ईटाका कच्ची घरहरू
पोलिएर त शहरका पक्की घर बन्ने हो !
•••
सधै थोत्रा ट्रक र थोत्रा ट्र्याक्टरमा मात्र
ईटा उकाल्ने ऊ,
आज नयाँ र ठुलो ट्रकमा ईटा भर्दै छ !

यत्तिकैमा उसले सुन्छ
‘हाकिम साहेबको ईटा हो’
काठमाण्डु जाने, एउटा पनि नफुटोस !

सुनेको थियो काठमाण्डु- शहर हो
र काठमाण्डु-शहरहरूको पनि शहर हो !

केहि घण्टाकालागी ईटा झै निर्जीव बनी
उ पनि अचानक ईटासँगै काठमाण्डु आयो !

उसले ठानेको थियो
गाँउमा मात्र हो दु:खी र गरीब हुने
गाँउमा मात्र हो पसिनाले जीउ धुने !

कुनै अमुक ठाँउमा ट्रक रोकियो
र उसका गोडा चालु भए !

•••

हाइड्रोशिल ले भारी भएका अण्डकोष
भूइमा टसाएर भए पनि
अरुको जुत्ता चम्काइरहेको मोची दाइ देख्यो
र देख्यो आडैमा बुढो बीर अस्पताल पनि !

दाउराको रापमा मकै र
घाम को तापमा आफैलाई पोलिरहेकी
सेती तामाङ देख्यो
र देख्यो सिंहदरबार पनि !

आफु भन्दा दोब्बर वजनको
भारी भोक्दै गरेका माइला देख्यो
र देख्यो बानेश्वर को सेतो घर पनि !

आफु जस्तै दुब्ला
र आफु जस्तै तिख्खर मान्छे को ताँती देख्यो
र देख्यो पासपोर्ट पाइने प्रखाल पनि !

कसो कसो छड्किएर बिमान घाट पुग्दा
देख्यो चुक भन्दा अमिलो मन बोकेर
मुग्लान हिडेका बलशालीहरू पनि !

थाकी थाकी सोझियो पशुपती नाथ,
माग्ने हरूको गुजुल्टो !
गुजुल्टो छिचोल्दै
मन्दिर सम्म पुग्दा त्यहाँ पनि
भगवानसँग माग्ने हरूकै गुजुल्टो !!

सुखी मान्छेहरू त
कंक्रीटको जंगलमा हराइरहेका थिए !

•••
भो शहर !
सोच्यो गाँउ फर्किन्छु ,
ट्रक खोज्दै थियो गाँउ फिर्न !
मोटरको तिखो आवाज ले
जुठे झल्याश्य बिउझियो !
आफ्नै झुप्रोमा !
•••
हो जुठे थारु
उर्फ जोधौ चौधरी
ठेगाना : बारा, बनकटिया,ईटाभट्टा !
•••
मुख पनि नधोइ ईटा बोक्दैगरेको जोधौ लाई
अब चाँही सच्चिकै शहर जान मन छ !
र मन छ शहर मा पुगी
सपनाको दाहसंस्कार गर्न !!