५ असार, काठमाडौ ।

सप्तरीको राजविराजमा गत फागुन २३ गते भएको घटनाको उच्चस्तरीय टोलीले अनुसन्धान पूरा गरी प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सप्तरीको राजविराजमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रममा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर पाँचजनाको ज्यान गएको घटनाको अनुसन्धान प्रतिवेदन आयोगमा बुझाएको उल्लेख छ ।

आयोगले सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गत चैत ३१ गते सो जिल्लाका उच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो ।

आयोगले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।