८ फागुन, काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सफल शल्यक्रियापछि घर फर्केका छन् । एपेन्डिसाइटिस भएपछि सफल शल्यक्रियागरेर पारस आजै घर फर्केका हुन् । अचानक पेटमा समस्या भएपछि उनलाई उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।


पारसको शल्यक्रिया गरेर पेटमा गुजुल्टीएका आन्द्राहरु मिलाउने काम गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए । पारसलाई एक हप्ता पछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ ।

उनको उपचारमा धिरेश महर्जन, प्रबिण बिक्रम थापा, सन्तोष श्रेष्ठ र रोशन घिमिरेको टोली संलग्न थियो । पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकोले पारस छिट्टै खेलमा फर्कन सक्ने चिकित्सकहरुले बताएका छन् । नेपालले विश्व क्रिकेट लिग च्याम्प्यिनसिप अन्तर्गत फागुन २८ र ३० गते कीतिपुरमा केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।