कुशल श्रेष्ठ
खतरनाक रसायनिक पदार्थ देखि कसलाई पो डर लाग्दैन होला र? जानी-जानी बागमतीमा हामफाल्न कसलाई पो मन लाग्छ र? तर कहिलेकाहिँ हामी अञ्जानमा यस्ता खतरनाक रसायनिक पदार्थहरूबाट गुज्रिनुपर्दछ, जुन हाम्रो स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ।
यस्ता रसायनिक पदार्थ खोज्न अन्त कतै जानुपर्दैन। हरेकको घर-घरमा यस्ता खतरनाक विषाक्त वस्तुहरू हुन्छन्, जसले थाहै नपाई हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ।
जस्तै;
१. पानीको बोत्तल
प्लास्टिकको बोत्तललाई पारदर्शी बनाउन ‘बिस्फेनोल ए’ (Bisphenol A- BPA) नामक रसायन प्रयोग गरिएको हुन्छ। तर, सायद तपाईँलाई थाहा छैन होला, यो बिपिए रसायनले हाम्रो शरीरमा भएको ‘एस्ट्रोजन’ हरमोनको नक्कल गर्दछ। भन्नाको मतलब यसको रसायनिक विशेषता एस्ट्रोजन जस्तै हुन्छ, तर भौतिक विशेषता एस्ट्रोजनको भन्दा ठ्याक्कै उल्टो हुन्छ।
एस्ट्रोजन हरमोनले विशेष गरी महिलाको शारीरिक विशेषताको विकास र मर्मत गर्ने काम गर्छ, जस्तै; स्तनको विकास, दूध उत्पादन, पाठेघरको वृद्धि, रजस्वला चक्रमा निरीक्षण, आदि। त्यसैले यो बिस्फेनोल ए रसायन महिला र बालकहरूको लागि हानिकारक हुन्छ।
तर सोँच्नुहोला कि, रसायन बोत्तलमा हुन्छ अनि हामीलाई कसरी असर गर्छ?
के कुरा बुझ्नुहोस् भन्दा यो संसारमा भएका कुनै पनि वस्तु अथवा पदार्थ स्थिर बसिरहन सक्दैन। कुनै न कुनै रूप लिएर यताबाट उता सरिरहेको हुन्छ। यसैक्रममा पानीको बोत्तलमा भएको रसायन पनि त्यहाँ राखिएको पानीको मार्फत हाम्रो शरीरमा प्रवेश गरिरहेको हुन्छ। अझै घामको तापको कारण उक्त रसायन वास्पिकरण भएर हावामा पनि फैलिन सक्दछ।
२. खाद्यपदार्थ राख्ने प्लास्टिकको डिब्बा
‘थ्यालेट्स’ (Phthalates) यस्तो रसायनिक पदार्थको समिश्रण हो, जसले प्लास्टिकलाई लचिलोपनाको विशेषता प्रदान गर्दछ। तर यो रसायनले हाम्रो शरीरको ‘प्ल्याकेन्टल’ (Placantal) हरमोनको नक्कल गर्दछ।
प्ल्याकेन्टल हरमोनले पुरुषहरूको शुक्रकीट उत्पादनमा महत्वपूर्ण भूमीका खेलेको हुन्छ भने महिलाहरूमा गर्भवती हुँदा भ्रूणको वृद्धि-विकासमा टेवा पुर्याउँदछ।
त्यसैले यो थ्यालेट्स रसायनिक पदार्थ हाम्रो शरीरमा प्रवेश गरेमा पुरुषहरूको वीर्यउत्पादनमा ह्रास ल्याउँदछ भने महिलाहरूमा भ्रूणको वृद्धि र विकासमा ह्रास ल्याइ बालकको स्वास्थ्यमा प्रतिकुल असर पार्दछ।
साथै यसले उच्च रक्तचाप, मधुमेह र बालकहरूमा जन्मैदेखिको समस्या निम्त्याउँदछ।
३. कार्पेट
घरको भुइँबाट आउने चिसोबाट बच्न अनि कोठाको शान बढाउन कार्पेटको प्रयोग गर्ने गरिन्छ। तर कार्पेटको निर्माणमा ‘परफ्लोरोअक्टानोइक एसिड’ (Perflouro-octanoic Acid: PFOA) को प्रयोग गरिएको हुन्छ, जसले विभिन्न किसिमका खतरनाक शारीरिक समस्या निम्त्याउने अनुसन्धानबाट पत्ता लागेको छ।
यस रसायनको कारण विशेष गरी क्यान्सर अनि गलगाँड सम्बन्धी समस्या हुने देखिएको छ। यो रसायन महिलाको स्तनमा जम्मा भएर बस्दछ अनि स्तनपानको माध्यमबाट बालकहरूमा सर्दछ।
यो रसायनले बालक र महिलाको शरीरमा कस्तो असर पुर्याउँछ भन्ने विषयमा वैज्ञानिकहरूको खोजक्रम जारि रहेको छ।
४. ह्याण्ड स्यानिटाइजर
ह्याण्ड स्यानिटाइजर (Hand Sanitizer) होस् या दाँत माझ्ने मञ्जन, कीटाणुहरूलाई मार्नको लागि यस्ता वस्तुहरूमा कीटाणुविरोधक रसायनिक पदार्थ ‘ट्राइक्लोसन’ (Triclosan) प्रयोग गरिएको हुन्छ।
यस्तो संवेदनशील वस्तु, जसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ, यो कसरी विषाक्त वस्तु हुन सक्छ भनेर सोध्नुहुन्छ भने ध्यान दिएर बुझ्नुहोस्। यो ट्राइक्लोसन रसायनले हाम्रो शरीरको हरमोन पैदा गर्ने प्रणालीमा समस्या निम्त्याउँदछ।
हाम्रो शरीरको वृद्धि र विकासको लागि चाहिने हरमोनको पैदा हुन छाड्यो भने बिस्तारै बाँझोपना अनि कलेजोको क्यान्सरमा वृद्धि हँदै जान्छ। हुन त यसले अरू थुप्रै समस्याहरू निम्त्याउँदछ।
तर वैज्ञानिकहरूको सचेतनाको अनुसार निर्माणकर्ताहरूले यस्ता वस्तुमा ट्राइक्लोसन रसायन हटाएर ‘बेञ्जलकोनियम क्लोराइड’ (Benzalkonium Chloride) राख्न थाले। यो पनि एक कीटाणुविरोधक रसायन नै हो। तर यसले पनि दमको समस्या निम्त्याउने खतरा देखिएको छ।
त्यसो भए के गर्ने त?
यी वस्तुहरू भनेको हाम्रो जीवनमा दैनिक प्रयोग हुने वस्तुहरू हुन्। यसको प्रयोगको मात्रा शून्यमै लैजान पनि असम्भव देखिन्छ। हामीले गर्न मिल्ने एउटै मात्र उपाय भनेको ‘कम प्रयोग’ नै हो। सन् २०१५ मा वैज्ञानिकहरूको एक खोजबाट के देखिएको थियो भन्दा पृथ्वीको समुन्द्रमा जति पनि माछाहरू छन्, अबको करीब २० वर्षभित्र त्यो भन्दा दोब्बर मात्रामा प्लास्टिकको सङ्ख्या हुनेछ। अनि प्लास्टिक हुने पोलीथिन कतिको हानिकारक हुन्छ भनेर सायद सबैलाई थाहै होला। तरपनि दैनिक जीवनमा मानिसहरू प्लास्टिकको अत्याधिक प्रयोग गरिरहेका हुन्छन्।
यो तथ्यलाई मध्यनजर गर्ने हो भने हामीले प्लास्टिकको प्रयोगमा नियन्त्रण गर्नुपर्ने अपरीहार्य देखिन्छ।