११ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले स्थानीय तहको चुनावमा मधेसी मोर्चा सहभागी हुन लागेकोमा त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन ।

पार्टीको कामपा वडा नं ८ इकाइ समितिले आज पशुपतिस्थित भुवनेश्वर मन्दिरमा आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सबै दलको सहभागिताले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउने बताए ।

नेता राणाले केन्द्रको अधिकारलाई स्थानीय तहका जनतामा पु-याएर उनीहरुलाई अधिकार सम्पन्न गराउनका लागि आसन्न चुनाव निर्धारित समयमा नै गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले मुलुकको विकासका लागि कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउँदै स्थानीय तहको चुनावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका विषयमा प्राथमिकता दिएर घोषणापत्र ल्याउन लागिएको जानकारी दिए ।

समितिका अध्यक्ष हरिशरण राजभण्डारीले हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल तथा विभिन्न पर्यटकीय सम्पदा रहेको उक्त क्षेत्रमा भूकम्पले धेरै क्षति पु-याएकाले त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याए । रासस