८ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले मोहन वैद्य, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताका लागि अपील गरेको छ ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पार्टी सचिवालयको विस्तारित बैठकका निर्णय सार्वजनिक गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि वैद्य, भट्टराई र विप्लवलाई अपील गरेका हुन् । शहीदका सपना र परिवर्तनका मुद्दा अघि बढाउन सबै एक हुनुपर्ने दिन आएको प्रचण्डको भनाई छ ।

माओवादी केन्द्रको बैठकले शासकीय स्वरुप फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीमा जानुपर्नेमा जोड दिएको छ । माओवादीले निर्वाचन प्रणालीलाई पनि फेर्नुपर्ने प्रस्ताव गरेको छ । राष्ट्रपतिको चुनाव प्रत्यक्ष गर्ने र संसदको चुनाव पूर्ण समानुपातिक प्रणालीमा गर्न माओवादी केन्द्रले प्रस्ताव गरेको छ ।

मध्यम वर्ग र गरिब जनताले चुनाव लड्नै नसक्ने भन्दै प्रचण्डले चुनाव प्रणाली फेर्नै पर्नेमा जोड दिए । चुनावी सहकार्यका लागि एमाले अध्यक्ष केपी ओलीले गरेको प्रस्तावलाई सकारात्मक भन्दै प्रचण्डले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी र चुनाव प्रणाली फेरेर अघि बढ्ने विषयमा सहमतिमा आउन आग्रह गरे ।