१३ माघ, इलाम।

नेपाली काँग्रेसको आशन्न १३औँ महाधिवेशन नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तातिँदै गएको छ । जिल्ला सभापतिका लागि पूर्वसभापति तथा महासमिति सदस्य हिमालय कर्माचार्य, होम दुलाल, भेषराज आचार्य, वर्तमान कोषाध्यक्ष डम्बर खड्का र बेनुपराज प्रसाईंले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्ला, क्षेत्रीय सभापति तथा विभिन्न पदमा उम्मेदवार घोषणा गरी नेता गाउँगाउँका क्रियाशील कार्यकर्तालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

क्षेत्रीय सभापतिमा क्षेत्र नं १ मा दुर्गा बराल र मोहन श्रेष्ठको नाम चर्चामा रहेको छ । क्षेत्रीय सभापतिमा भीष्म प्रधान तथा मिलन क्षेत्रीको समेत चर्चा रहेको छ । क्षेत्र नं २ मा सभापतिका लागि वर्तमान अध्यक्ष गोविन्द गिरी, मेघप्रसाद चम्लागार्इं र तिलविक्रम सम्वाहाम्फेको नाम चर्चा छ ।

क्षेत्र नं ३ मा सभापतिका लागि नुतनदेव दुलाल, गोविन्द पौडेल, ईश्वर चिपालु, माधव बस्नेत, रमेश सुवेदी, निरोज खड्गीको नाम चर्चामा रहेको छ ।

इलाम नगरपालिकामा निर्मल राउत, होम बस्नेत र सन्दीप बुढाथोकीको नाम चर्चामा छ । सूर्याेदय नगरपालिकामा सोनामकाजी र मणि गुरुङ र देउमाई नगरपालिकामा दिलीप कार्की, कृष्णप्रसाद बराल, पुष्प आचार्य, राजेन्द्र बास्तोला र तारा ढुङ्गानाको नाम चर्चामा छ ।

यतिबेला इलामका ठूला होटलदेखि चिया पसल हुँदै गाउँदेखि चोकसम्म नेपाली काँग्रेसकै अधिवेशन र महाधिवेशनको चर्चा चलिरहेको छ । गाउँस्तरमा समेत चुनावको प्रक्रिया अघि बढेपछि चर्चा चुलिएको हो । कतिपय गाउँ तथा नगरपालिकामा बढी नै व्यक्ति आङ्काक्षी भएकाले गर्दा सभापतिमा मिलाउन जिल्ला नेतालाई धौधौ परिरहेको छ ।

पद सुरक्षित गर्न नेता गाउँगाउँमा गएर अन्तक्र्रिया र छलफलमा व्यस्त भएका छन् । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ । गाउँ र नगर माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न हुनेछ । निर्वाचन गराउन निर्वाचन अधिकृतसमेत जिल्ला आइपुगेका छन् ।

गाउँ, नगरस्तरका अधिवेशनका लागि जिल्लामा निर्वाचनको माहोल तातेको छ । अन्य गुटका कार्यकर्तालाई समेत आ–आफ्नो पक्षमा हात लिनसमेत नेता लागिपरेका छन् । जिल्लामा करिब ७०० प्रतिनिधि आएका नेपाली काँग्रेस इलामले जनाएको छ ।

गाउँ कार्यसमितिबाट खुला पाँच, क्रियाशीलताका आधारमा महिला तीन, जनजाति एक, दलित एक, अल्पसङ्ख्यक र अपाङ्गता भएकाबाट एक र सभापति एक गरेर १२ जना आउनेछन् । रासस

यो पनि पढ्नुस्।

नेपालमा भष्ट्राचार बढ्यो, भुटान अब्बल

नयाँ शक्तिको कार्य विभाजनः प्रचार–प्रसार विभाग मुमारामलाई

राष्ट्राध्यक्षको स्वागतको लागि नाङ्गा मूर्ति ढाकियो

प्रचण्डले महतोलाई भने नाका खोल्नुस्

प्रियंका चोपरा अब प्रहरी