८ असोज, काठमाडौं ।

सभामुख ओनसरी घर्ती ६ दिन लामो चीन भ्रमण पुरा गरी आज स्वदेश फर्किएकी छन । पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई सहित ८ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन सरकारको निमन्त्रणामा सभामुख असोज २ गते चीन प्रस्थान गरेकी थिइन् ।

चीन भ्रमणका क्रममा सभामुखज्यूले गान्सु प्रान्तमा आयोजित सिल्करोड ईन्टरनेशनल कल्चरल एक्स्पोमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै आफ्नो मन्तव्य राखेकी थिइन् ।

नेपाल फर्किएपछि अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सभामुखले चीन सरकार ऊर्जा, पर्यटन र कृषीको क्षेत्रमा सहयोग गर्न बढी ईच्छुक रहेको बताइन् ।

उनले गान्सु प्रान्तमा भएको भेटवार्ताका क्रममा चिनीयाँ उपप्रधानमन्त्री याङदोङले राष्ट्रपति जिनपिङले नेपाल भ्रमण गर्न चाहेको तथा कुटनीतिक तहमा छलफल गरेर भ्रमणको मिति टुंगो लगाउने बताएको जानकारी दिइन् ।