काठमाडौं, ३० जेठ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भएर बनेको समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि बिहीबार निवेदन दिएको छ ।

पार्टीको संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिती अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । दुई पार्टी एकीकरण भएर समाजवादी पार्टी नेपाल गठन भएको एक महिना बढी भएपछि नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसहितका केही दलसँग पनि पार्टी एकताको छलफल चलाइरहेको छ । निर्वाचन अयोगले आवश्यक कानुन अनुसार दल दर्ता हुन योग्य भए नभएको हेरेर ४५ दिनभित्र निर्णय दिने जनाएको छ ।