बीरसिंह घले, (अध्यक्ष)
नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, (लमजुङ)

जागिरमा तनाव, समाजसेवामा आत्मसन्तुष्टि

वि.सं.२०३६ सालमा नेपाल प्रहरीमा सिपाहीबाट भर्ना भएँ । वि.सं.२०५७ सालमा सई (प्रहरी नायव निरीक्षक)बाट अवकाश लिएको हुँ । म अहिले सामाजिक क्षेत्रमा क्रियाशील छु । मलाई आत्मसन्तुष्टि मिलेको छ । जागिरमा हूँदा त्यत्ति मिलेको थिएन । जागिरमा जहिले पनि गर भनेको गर्नुपर्ने, नगर भनेको गर्न नहुने । जहिले पनि डर त्रास हुन्थ्यो । जागिरबाट निस्केपछि त मलाई जे गर्न मन लाग्छ त्यहि गर्छु । त्यसैले स्वतन्त्र रुपमा समाजसेवामा लागेको छु । राष्ट्रको सेवा गर्ने काममा नै भएकाले पनि मलाई जागिरबाट रिटायर भएपछि समाज सेवा गर्छु भन्ने सोच थियो । जागिरका सिलसिलामा विभिन्न ठाउँमा पुग्दाखेरी त्यहाँ मानिसहरुले गरेको समाजसेवा देखेर नै म पनि प्रभावित भएको हुँ । रिटायर भएपनि जागिर त खान पाइन्थ्यो तर आधा तलबमा त के काम गर्नु भनेर समाजसेवामा लागेँ ।

युद्ध सम्झँदा छाती पोलेर अउँछ

मैले जागिर छोड्ने बेला पनि देश युद्धमा थियो । त्यसबेलाको कहानी त निकै लामो छ , त्यो बेला सम्झियो भने अहिले पनि मेरो छाती फुलेर आउँछ । राति १० बजे गस्तीमा गएको बेला फायरिङ भयो । सँगै हिँडेको साथी गोली लागेर फ्याट्टै मर्यो । ज्यान जोगाउनै गाह्रो थियो त्यतिबेला । त्यो घटना म अहिलेसम्म पनि बिर्सिन्न ।

समाजसेवासँगै राजनीति

समाजसेवासँगै अलि अलि राजनीति पनि सुरु गरेको छु । समाजसेवा गर्दा गाउँको मात्रै सेवा हुने भयो । त्यसैले अब राजनीतिमार्फत देशकै सेवा गर्ने प्रयास गरेको छु । हामी मिलेर नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी खोलेका छौं । त्यसको लमजुङ जिल्ला अध्यक्ष म छु ।

मान्छेको सोचाइ चाहिँ यसमा पूर्व कर्मचारी मात्रै हुने हो कि भन्ने छ । जनस्तरबाट पनि किन साँघुरो नाम राख्नुभएको हो ? भन्ने आवाज पनि छ । तर त्यस्तो होइन यसमा सबै अटाउँछन् । नाम मात्र यस्तो राखिएको हो ।

निस्वार्थ समाजसेवा, स्वार्थको राजनीति !

मलाई त्यस्तो लागेको छैन । म समाजसेवाको दायरा फराकिलो बनाउन लागेको हुँ । समाजसेवालाई बल दिन मात्रै राजनीतिमा लागेको हो । मेरो केही स्वार्थ छैन । मैले आफ्नो पेन्सन थाप्छु, समाजसेवामै सकाउँछु ।

म अहिले जुमडाँडा घले दरबारको संरक्षणमा पनि लागेको छु । जसले काम गर्छ उसलाई नै पत्याइँदो पनि रहेछ । देश बाहिर रहेका साथीभाई हरुले पनि मेरो अभियानलाई आर्थिक सहायता पनि गरिरहेका छन् । यसैले पनि आत्मसन्तुष्टि मिल्छ । समाजसेवा र पार्टीगत राजनीतिलाई सँगै लैजाने मेरो उद्देश्य हो ।

शिक्षा र इलम महत्वपूर्ण

अहिले युवाहरुको मनस्थिती नै बाहिरै (विदेश)जाने छ । यहाँ कसरी कमाउने ? के छ यहाँ ? भन्ने प्रश्न आउँछ । विदेशमा पढ्न र काम गर्न नजानेको घर भेट्नै मुश्किल छ गाउँतिर ।

नेताहरुले रोक्ने भनेर बोल्छन् तर युवाहरु विदेशीने क्रम रोकिएको छैन । पहिला त मलाई पनि बच्चाहरुलाई विदेश पठाउँछु, राम्रो पढाउँछु भन्ने सोच आउँथ्यो । तर मैले गलत सोचेको रहेछु । विदेश पठाउने भन्दा पनि यहिँ राम्रो शिक्षा दिक्षा र संस्कार दिन सकियो भने त धेरै गर्न सकिने रहेछ । पढेको मान्छे र एउटा इलम जानेको मान्छेलाई के छैन र अवसर । आफूले पनि मिहेनत गर्नुपर्यो नि त्यसपछि घरमै पनि खोज्न आउने रैछ त ।

सबै कुरा पचाएर हिँडेको छु

हाम्रो समाजको दृष्टिकोण नै गलत छ । हुन त सबै उस्तै हुँदैनन् । मलाई पनि केही पाउँछ र दौडिन्छ, नपाएको भए यत्रो दुःख गर्छ ? त्यसै दोडिन्छ ? पनि भन्छन् । कति थोक भन्छन् मान्छेहरुले, मैले सबै कुरा पचाएर हिँडेको छु ।

अब चुनाव लड्ने

पहिला म नेकपा एमालेमा थिएँ । जागिरमा थियौं पार्टीमा खुलेर लाग्ने कुरा भएन । अहिले पार्टीमा जाऔं जुनिएयर भइयो, कसैले गन्दैन । पहिला अर्काको घरमा थियौं अहिले पार्टी खोलेपछि आफ्नै घर बनाएजस्तै लागेको छ । अब माहौल मिल्यो भने आउँदो चुनावमा प्रतिष्पर्धा गर्ने हो ।