६ चैत, प्यूठान ।

‘सयको लगानी तर हजारको आम्दानी’ सुन्दा अनौँठो लाग्न सक्छ । तर यहाँका एक कृषकले सयमा लगानी गरी अहिले हजारको आम्दानी गर्दा जिल्लामै नमुना बनेका छन्।

दक्षिणी प्युठानको बाङ्गेसाल गाविस–६ दर्भानका हरिबहादुर केसीले अहिले आफूमात्रै होइन बेरोजगार स्थानीय युवालाई सीप हस्तान्तरणसँगै नयाँ काम सुरु गर्न प्रेरणा दिँदै समाजमा नै नमुना बनेका हुन्। “व्यक्तिको जीवनमात्रै होइन समाजलाई पनि हामीले परिवर्तन गर्ने हो” उनले भने, “सयमा सुरु गरेको कामले मलाई हजारौँको आम्दानी दिएको छ ।”

“पराल काट्ने, उसिन्न र त्यसलाई प्लास्टिकमा पोका पार्ने मेरो दैनिकी हो ।” केसीले भने, “सुरु गर्दा सयमा लगानी गरेको थिएँ तर अहिले हजारौँ आम्दानी गर्दैछु ।” उनले यस्तो दैनिकी चलाएको एक वर्ष भयो । केसीले अहिले जिल्लामै नमुना च्याउ उत्पादन गर्दा उनको चर्चा थप बढ्दै गएको छ।

“च्याउ बनाउनका लागि बिहान ५ बजेबाटै काम सुरु गर्ने गरेको छु।” केसीले भने, “पराल काट्ने, धुने, उसिन्ने र बीउ मिसाएर प्लास्टिकको पोको बनाउने मेरो दैनिकी हो ।”

पाँच वर्ष खाडी मुलुक कतारमा मजदुरी गरी घर फर्किएका केसीले बाँकेको खजुरामा सञ्चालित ५१ दिने अगुवा कृषक कार्यक्रमबाट निःशुल्क तालिम लिएको थिए। तालिम सिकेपछि चार हजार ५०० लागतमा च्याउखेती सुरु गरेका हुन्। केसीले अहिले खर्चबाहेक च्याउखेतीबाटै मासिक रु २५ हजारसम्म आम्दानी गर्ने गर्छन्।

“उता खाडीमा बस्दा समस्या धेरै हुन्छ । यहाँ त परिवारसँगै बस्दा रमाइलो पनि, सुख पनि” उनले भने । उत्पादन गरेको च्याउ स्थानिय बजारमै खपत हुने गरेको छ । उत्पादित च्याउ पछिल्लो समय दाङ, नेपालगन्ज र रोल्पासम्ममा पठाउने गरेको उनले बताए।

केसीले बारीमा दुईवटा छाप्रो बनाई २५० वटा छ्वालीमा च्याउ उत्पादन गर्दै आएका छन्। उनका अनुसार बीउ किनेर ल्याए आफ्नै घरगोठको अँध्यारो कोठामा च्याउखेती गर्न सकिन्छ ।

एक पटक लगाएको बीउले तीनदेखि चार महिनासम्म आम्दानी लिन सकिन्छ। जग्गा नहुने र धेरै लगानी लगाउन नसक्ने विपन्न किसानका लागि च्याउखेती गतिलो माध्यम भएको उनले बताए।

केसीजस्तै ढुङ्गढी छबिसेकी २६ वर्षीया उर्मिला सोमैले पनि यस क्षेत्रमा सात वटा छ्वालीमा च्याउ उत्पादन गर्दै आएका छन्। उनले तीन महिनाअघिबाट च्याउखेती सुरु गरेको र च्याउबाटै राम्रो आम्दानी हुने गरेको बताए।

जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्थानीय भित्री खोला आइपिएम पाठशालाले समन्वय गरेपछि उनले च्याउखेती सुरु गरेको बताए। च्याउले राम्रो प्रतिफल दिएपछि व्यावसायिक रुपमा यस पेसातर्फ जिल्लाका कृषकको आकर्षण बढेको छ ।

यहाँका किसानले ठूलो मात्रामा च्याउको उत्पादन गर्दा बजारको समस्या हुने बताएका छन् । यहाँ च्याउको बजार भाउ प्रतिकिलो रु २८० सम्म पुगेको छ । यस क्षेत्रसँगै जिल्लामा अहिले ४० जनाको हाराहारीमा किसान व्यावसायिक रुपमा च्याउखेतीमा लागेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

कृषि विकास कार्यालयका योजना अधिकृत उमेश श्रेष्ठका अनुसार जिल्लामा दैनिक २०० देखि ३०० केजीसम्म च्याउ उत्पादन हुने गरेको छ ।

केन्द्रीय कार्यक्रमअनुसार जिल्लाका छनोटमा परेका ४० च्याउखेती गर्ने कृषकले प्रतिव्यक्ति रु ४० हजार अनुदानमा पाउने छन् । किसानलाई च्याउखेतीमा आकर्षित गर्न ५० प्रतिशत छुटमा बीउ र निःशुल्क तालिम तथा प्राविधिक सीप दिइएको वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीले बताए। रासस