२८ चैत, काठमाडौं । नेकपा (एमाले)को आज बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

पार्टीका कावा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह निर्वाचन र संविधानविपरीत एवम् राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको पार्टीका प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयक फिर्ता लिई प्रमुख प्रतिपक्षी एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमत हुने गरी नयाँ संशोधन प्रस्ताव प्रस्तुत गर्ने सार्वजनिक अभिव्यक्ति दिनुभएकामा एमाले बैठकले सरकारले भनेजस्तो आफ्नो पार्टीसँग कुनै सहमति नभएको स्पष्ट गरेको छ ।

बैठकले एमालेको काठमाडौँ जिल्ला कमिटीमा उत्पन्न विवाद मिलाउन कावा अध्यक्ष गौतमको संयोजकत्वमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल रहेको कार्यदललाई जिम्मेवारी दिएको छ । स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न आउँदो वैशाख ३ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । रासस