काठमाडौं ।

सुशील कोइराला नेतृत्वको सरकारमा श्रम राज्यमन्त्री भएका कांग्रेस नेता टेक बहादुर गुरुङले खाडी मुलुकमा जाने कामदारका लागि फ्रि भिषा र फ्रि टिकटको व्यवस्था लागू गरेर निक्कै वाहवाही कमाए । भलै त्यो कार्यान्वयनमा आएको होस वा नआएको । तर त्यसको आडमा उनले सत्ता र शक्तिको दुरुपयोग गर्दै कसरी ब्रह्मलुट गरे भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

राजनीतिक छवि बनाएर मन्त्री भएका गुरुङको भित्री पेशा म्यानपावर सञ्चालन गरेर मानव तस्करी गर्नु हो । उनी युरोपमा मान्छे पठाउने काम गर्छन । काठमाडौंको सानो भर्याङमा रहेको हिमाल म्यानपावर उनकै हो । जसलाई अहिले उनका छोरा अम्मर गुरुङले सम्हालिरहेका छन् ।

विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार सन् २०१३ देखि इजरायली नागरिक रोनीसंग मिलेर मान्छे विदेश पठाउने काम गरेका उनले अहिलेसम्म ३ सयभन्दा बढी मान्छे युरोपका विभिन्न देशमा पठाईसकेका छन् । त्यसमध्ये सबैभन्दा धेरै पोर्चुगलमा पुरयाइएको छ । त्यसका लागि उनले स्पेनिज, थाइल्याण्डका एजेन्सीहरु, जम्बुजिरामा रहेको वायो एटलान्टिक फार्मका सञ्चालक फिलिप फेरेरा र केही नेपालीसँग हातोमालो गरेरका छन् ।

उनले आफू सत्तामा हुँदा वर्क परमिटमै कामदार पोर्चुगल पठाउने गर्थे । तर सत्ताच्यूत भएपछि भने भिजिट भिषामा पनि पठाउने गरेका छन् । वर्क परमिटमा जाँदा डकुमेन्टेशन र टिकटको बाहेक अरु पैसा लाग्दैन । तर हिमाल म्यानपावरले भने एक जनासँग १५ लाख रुपैयाँसम्म असुलेको प्रमाण भेटिएको छ ।

पोर्चुगलमा स्पेनिज नागरिकले सञ्चालन गरेको एमाइजिङ पर्मिस एल.टिडि. नामक कृषि फार्ममा काम गर्ने बाग्लुङका एक नेपालीले नाम नलेखिदिने सर्तमा भने, ‘साउदी, कतार जस्तो खाडी मुलुक होइन, युरोप हो, पैसा धेरै नै लाग्छ जस्तो लागेको थियो, तर वर्किङ भिषामा धेरै लाग्दो रहेनछ । हामी भ्रममा परेर १५ लाख तिर्न बाध्य भयौं ।’

कुरा एक वर्ष अगाडिको हो । सन् २०१७ मा तीन लट गरी ५३ जनालाई पोर्चुगल उडाइयो । अक्टुबरमा अन्तर्वाता पास गरेका उनीहरु जुनमा पोर्चुगल पुगे ।

शुरुमा ९ लाखमा पठाउने गरिएकोमा अहिले एक जनाबाट १५ लाख रुपैयाँसम्म असुल्ने गरिएको छ । तर हिमाल म्यानपावरका म्यानेजिङ डाइरेक्टर सञ्जिव अधिकारी यो कुरा अस्वीकार गर्छन । उनी भन्छन्, ‘म त काम गर्ने कामदार मात्र हो । धेरै भित्री कुरा थाहा छैन । तर त्यो लटमा डकुमेन्टेसनका लागि एक लाख १० हजार मात्र लिएको हो । बाँकी टिकट पनि उनीहरु आफैले काटेका हुन ।’

सञ्जिव अधिकारी नेपाली कांग्रेस लम्जुङका पूर्व सांसद हरिभक्त अधिकारीका छोरा हुन् । पूर्व सांसद अधिकारीलाई रातो पासपोर्ट बेचेको आरोप लागेको थियो ।

हरेक लटमा ३० देखि ५० जनाको हाराहारिमा मान्छे लैजाने गरिएको छ । झण्डै दुई महिना अघि मात्र २८ जनालाई पोर्चुगल पुर्याइएको छ । पछिल्लो पटक पठाइएका उनीहरु लिनोज नामक गोलभेडा फार्ममा काम गरिरहेका छन् । तर नेताको दवावमा त्यही काम पनि फुस्केला भन्ने डरले उनीहरु खुलेर कुरा गर्न चाहन्नन ।

यसबारे कांग्रेस नेता तथा पूर्व श्रम राज्यमन्त्री गुरुङसँग बुझ्दा उनले मान्छे पठाएको स्वीकार गर्दै भने, ‘केटाहरुले काम पाएका छन् कि छैनन, कार्ड बन्यो वा बन्छ कि बन्दैन त्यो भन्नुस् न ! अरु धेरै कुरा किन गर्नुहुन्छ ?’

तर उनले पठाएका कामदार सन्तुष्ट छैनन् । लगानी धेरै, आम्दानी थोरै तथा भने अनुसारको सेवा सुविधा नपाएको भन्दै उनीहरुले मान्छे पठाउने दलाल प्रति आक्रोस पोखे । एमाइजिङ पर्मिस नामक कम्पनीमा काम गर्दै गरेका अर्का एकजना भन्छन्, ‘१५ लाखको ऋण लागेको छ तर ८ घण्टा काम गर्दा तलव बल्लतल्ल ५ सय ३० युरो अर्थात झण्डै ६० हजार नेपाली रुपैयाँ हुन्छ । यस्तो कमालईले ऋण कहिले तिर्ने ?’

उनीहरुले बस्नका लागि पनि राम्रो व्यवस्था नभएको गुनासो गरे । ‘शुरुमा कम्पनिले हप्तामा एक दिन बाहिर सपिङ गर्न लैजान्थ्यो अहिले त त्यो पनि छैन । कामदारलाई ‘फायर’ गर्न थालेको छ । ५३ जना आएकोमा अहिले ३३ जनालाई मात्र काम मिलेको छ ।’

नेपालबाट मान्छे पठाउने दलालले तीन महिनामा कार्ड बन्छ भन्दै त्यहाँको कम्पनसिँग तीन महिनाको मात्र कन्ट्रयाक्ट गर्ने तर तीन महिना पछि कार्ड पनि नबन्ने र काम पनि नपाउने समस्याले नेपाली कामदार ‘फायर’ हुने गरेका छन् ।

शुरुमा पोर्चुगलबाट कमल गुरुङ, हेमन्त सेडाई लगायतले कामदार लैजाने गर्थे । तर अहिले १५, २० दिनको भिजिट भिषामा युरोप छिराएर पनि पोर्चुगल लैजाने गरिएको छ । श्रोतका अनुसार रोशन पराजुली, प्रदीप खत्री, हिमाल अधिकारी लगायतले कांग्रेस सभाद्हरुको पासपोर्ट प्रयोग गर्दै नेपालीलाई युरोप पुर्याउने गरेका छन् ।

एक जना पीडित भन्छन्, ‘दलालहरुले अनियमित तरिकाले अकुत सम्पत्ति कमाएका छन् । अख्तियारले उनीहरुको सम्पत्ति छानविन गर्नुपर्छ ।’