puspakamal dahal prachanda२४ चैत, धादिङ । एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असारमा निर्वाचन नभए वर्तमान सरकार र निर्वाचन आयोगलाई निर्वाचनको मिति धोषणा गर्ने अधिकार नभएको बताएका छन् ।
एकिकृत नेकपा माओवादी विषेश व्युरोको आयोजनामा आज धादिङको धार्केबजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले असारमा निर्वाचन नभए मङ्सिरमा निर्वाचन हुन्छ भन्दै हिड्ने कांग्रेस-एमालले निर्वाचन नचाहेको आरोप लगाएका छन् । एमाओवादीलाई कमजोर बनाएर निर्वाचन गराउने चालबाजीमा उनीहरू लागेको भन्दै उनीहरुले उल्टो षडयन्त्र गरेर देशलाई दुख दिने काम गरेको बताएका छन् । असारमा निर्वाचन गराउँदा एमाओवादीले दुई तिहाई बहुमत ल्याउने डरले कांग्रेस-एमालेले असारमा निर्वाचन नगराउने षडयन्त्र गरेको बताएका छन् ।
उनले असारमा निर्वाचन गर्न सहमति गर्ने दलहरू नै अहिले निर्वाचन कसरी सम्पन्न हुन्छ भन्दै हिड्नु हास्यास्पद भएको बताए । एमावादीलाई कमजोर बनाउनको लागि असारमा निर्वाचन नगराउने पक्षमा प्रतिक्रियावादी लागेको भन्दै प्रचण्डले जनपक्षिय संविधान निर्माण गर्नको लागि एमाओवादी प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहेको मध्य तराईका नेता रामचन्द्र झालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष प्रचण्डले नेपाल राष्ट्रको एकता गर्ने अभियानमा झाले साथ दिएको उल्लेख गर्दै आफुले समेत आगामी निर्वाचनमा तराईबाटै उम्मेद्वारी दिने बताए ।
आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्नको लागि मोहन वैद्य र उपेन्द्र यादवहरू पनि एमाओवादीसँग मिल्नु पर्ने उल्लेख गर्दै उनले आफूहरूसँग नमिले पतनको बाटो रोज्नु पर्ने उल्लेख गरे । भर्खरै वैद्य माओवादीबाट एमाओवादीमा फर्कनु भएकाहरूलाई बधाई दिदै उनले तराई, हिमाल र पहाड देखिनै एमाओवादीमा प्रवेशको लहर चलेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी उपाध्यक्ष एंव पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभामा आफुहरूको दुई तिहाई बहुमत भएको भए जनताको पक्षमा संविधान जारी गर्न सक्ने बताए । उनले छोटो समयको लागि समय थप गरेर भएपनि संविधान बनाउने प्रयत्न गर्दा अदालतमा मुद्वा लगाउने र भोटिङ गरेर प्रक्रियामा जान माग गर्दा पनि सभामुखले बैठक नै नबोलाई संविधानसभा विधटन गराएको बताए ।
उक्त कार्यक्रममा कांग्रेस एमालेबाट विद्रोह गरि एमाओवादीमा प्रवेश गरेकाहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका लगाएर स्वागत गर्नुभएको थियो ।