२४ चैत, काठमाडौ । एकिकृत नेकपा माओवादीबाट चोइटिएर गएको मोहन वैद्य किरण नेतृत्वको नेकपा-माओवादीले आज देशभर जनप्रदर्शन तथा जनसभा गर्ने तयारी गरेका छन् । चैत १ गतेको सम्झौताको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको नेकपा-माओवादी लगायत साना दलले आज देशभर जनप्रदर्शन र जनसभा गर्ने भएका हुन् ।
जनआन्दोलन दिवसको अवसर पारेर नेकपा-माओवादीले देशभर जनप्रदर्शन र जनसभाको कार्यक्रम तय गरेको हो । आज हुने जनसभालाई दलका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा-माओवादीका अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले काठमाडौमा आज २ बजे हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने पार्टी उपाध्यक्ष सिपी गजुरेलले नेपालगञ्ज, सचिव देव गुरूङले विराटनगर र अर्का सचिव नेत्रविक्रम चन्दले बुटवलमा हुने जनसभालाई सम्बोधण गर्ने छन् ।
आन्दोलनका कार्यक्रम अनुसार भोली नेकपा-माओवादी सहितका ३३ दलले नेपाल बन्दको आव्हान गरेका छन् ।