‘पुनर्निर्माण गर्न राष्ट्रिय सरकार’

२७ बैशाख, काठमाडौं ।

महाभूकम्पपछिको राष्ट्रिय विपत्ति सामना गर्न राष्ट्रिय सरकार बनाउनुपर्ने सुझाव पूर्वप्रधानमन्त्रीहरूले दिएका छन्। संसद्को शनिबारको बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले महाभूकम्पपछिको विपत्ति सामना गर्न र मुलुक पुनर्निर्माणका लागि राष्ट्रिय सरकार बन्नुपर्ने बताए।

एमाओवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री भट्टराईले केही दशक राष्ट्रिय सरकार बनाएर अघि बढ्नुपर्ने संसद् बैठकमा बताए। ‘गतिशील नेतृत्वको राष्ट्रिय सरकार बनाऔं। दोस्रो पुस्तालाई सरकार हस्तान्तरण गरौं। अब धेरै लोभ नगरौं, जो सक्षम छ, उसलाई नेतृत्व दिऔं’, उनले भने।

उनले हाम्रो पुस्ताको सबैभन्दा त्रासदीपूर्ण र विनाशकारी भूकम्प बेहोरेको उल्लेख गर्दै सूचना गर्दागर्दै र भन्दाभन्दै महाभूकम्प आएको र मुलुकलाई ठूलो विनाश गराएको बताए।

Baburam Bhattarai Briefs Media

विनाशकारी भूकम्पको जोखिम न्यून गर्न नसकेको उल्लेख गर्दै उनले असफलताको जिम्मेवारी सबैले लिनुपर्ने र आफ्नो भागको जिम्मेवारी वहन गर्न आफू तयार रहेको बताए। ‘विनाशको समस्या नयाँ चेत र सोचले मात्रै समाधान गर्न सम्भव हुन्छ’, उनले भने।

विपत्का बेलामा जनताले नेताको आलोचना गर्नु सामान्य भएको उनले बताए। उनले भने, ‘हामीप्रति जनताको आशा र विश्वास टुटेको छ। प्रधानमन्त्रीकै नेतृत्वमा विज्ञहरू राखेर अधिकारसम्पन्न राष्ट्रिय नवनिर्माण प्राधिकरण बनाउनुपर्छ। यसो ग:यौं भने पाँच वर्षमा भूकम्पको क्षतिपूर्ति गर्न सक्छौं।’

खर्च नभएको एक सय ५० अर्ब र राष्ट्रिय ऋणपत्र गरी ६ सय अर्ब र बाह्य सहयोगसमेत गरी करिब १० खर्बको कोष खडा गरी नयाँ निर्माणमा अघि बढ्न उनले सरकारलाई आग्रह गरे।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय विपत्तिका बेला सरकारको उपस्थिति कमजोर भएको भन्दै राष्ट्रिय सरकार बनाउनुपर्ने बताए। ‘यस्तो बेला राष्ट्रिय सहमतिको सरकार गठन गर्न सक्यौं भने मुलुकको हित हुन्छ’, नेपालले भने। विपत्कै समयमा देश जाग्नुपर्ने र राष्ट्रिय एकताको प्रदर्शन हुनुपर्ने उनले बताए।

भूकम्पका हिसाबमा देश उच्च जोखिममा रहेको थाहा हुँदाहुँदै र आफैं प्रधानमन्त्री हुँदा विपत् जोखिम राष्ट्रिय नीति तय भए पनि अगाडि बढाउन नसकेकोमा उनले दु:ख व्यक्त गरे। उनले भने, ‘अब विपत्बाट मुलुक जोगाउन निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुप:यो। फास्ट्र्याक बन्नुपर्‍यो। मध्यपहाडी राजगमार्ग बन्नुपर्‍यो।’ जनताले आफूहरूसँग चाउचाउ होइन राहत, राहत होइन घर मागेको उनले बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।