६ फागुन, भक्तपुर ।

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले निर्वाचन नचाहेको भन्दै पदमा बस्ने औचित्य नभएको बताएका छन् । रफत सञ्चार क्लवले भक्तपुरमा गरेको कार्यक्रममा भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पद्मा बस्नुको औचित्य नहुने बताए ।

संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै सचिव भट्टराईले भने, ‘चुनावको मिति घोषणा नगर्ने हो भने अहिलेको सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार छैन ।’

विधानसभाले मधेशी दलको एजेन्डलाई अस्वीकार गरेको बताउँदै नेता भट्टराईले मधेशवादी दलले पनि चुनावमा भाग लिएर आफ्ना एजेन्डा परिक्षण गर्न आग्रह गरे । मधेशी दलको तागत र संख्या नपुगेकाले संविधानसभाले एजेन्डा विफल बनाएकोले जनादेश ल्याएर संविधान संशोधन गर्न उनको सुझाव छ ।

संविधान संशोधन प्राकृतिक हिसावले मरिसकेको र प्राविधिक हिसावले ढुकीढुकी मात्र बाँकी रहेको उनको टिप्पणी थियो । एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको दावी गर्दै भट्टराईले संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केहि फरक नपर्ने बताए ।