२ जेठ, काठमाडौं ।

सरकारका उपलब्धि सदनलाई जानकारी गराउने

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले गरेका उपलब्धिबारे ४ देखि ७ जेठभित्रै संसद्लाई जानकारी दिने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन गराउन सफल भएको भन्दै उनले निर्वाचनमा सहयोगी सबैलाई पनि धन्यवाद दिने भएका छन् । आफूले १९ साउनमा सरकारको नेतृत्व सम्हालेयता लोडसेडिङको अन्त्य, आर्थिक वृद्धि, ओबिओआरमा हस्ताक्षरलगायतका कामबारे पनि प्रचण्डले संसदलाई जानकारी गराउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । संसद्मा सम्बोधनसहितका विषयमा सत्ता साझेदार कांग्रेसलगायतका दलसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने योजना बनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रम ल्याउने
संविधानअनुसार १५ जेठभित्रै सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गर्नुपर्ने हुन्छ । निर्वाचनको मुखैमा बजेट ल्याउन नपाउने प्रतिपक्षी एमालेको अडानपछि सरकारले सहमतिका आधारमा कामचलाउ बजेट मात्र ल्याउने तयारी गरेको छ । बजेट ल्याउन सरकारले राष्ट्रपतिमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नैपर्ने बाध्यता छ । यसको तयारीमा पनि प्रधानमन्त्री रहेको सल्लाहकार आचार्यले बताए ।

संविधान संशोधनमा सहमति जुटाउने
सरकारले राष्ट्रिय जनता पार्टीसहित संघीय गठबन्धनसँग भएको सहमतिका आधारमा संविधान संशोधनका लागि अधिकतम पहल गरेको छ । संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा ५० वटा संशोधन परेका छन् । ४ जेठमा बस्ने संसद् बैठकमा संघीय गठबन्धनको मागका आधारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने तयारीमा प्रधानमन्त्री छन् । संसद्मा संशोधन प्रस्ताव अगाडि बढाएर पास गराउने उनको योजना छ ।

देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण
प्रधानमन्त्री प्रचण्ड संविधान संशोधन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुतसहित संसद्लाई सम्बोधन गरेर सरकारको नेतृत्व पूर्वसहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने तयारीमा छन् । संसद्मा सम्बोधन गरेर नै राजीनामा दिने उनको योजना छ । यसका लागि संसद्मा रहेका दलहरूको बहुमत जुटाएर सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्ने योजना प्रचण्डले बनाएको उनका प्रेस सल्लाहकार आचार्यले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।