२७ भदौ, काठमाडौं ।
सरकारले बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग खारेज गर्ने तयारी गरेको छ । स्वीकृति लिएको लामो अवधिसम्म पनि निर्माण सुरु नभएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग खारेज गर्ने तयारी गरेको हो । मन्त्री वीरबहादुर बलायरले निर्माण सुरु नै नभएपछि सुरुङमार्ग खारेज गरिने बताए ।

‘काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग खारेज गर्ने तयारी अघि बढेको छ । स्वीकृति दिएको लामो अवधिसम्म पनि बन्ने छाँट देखिएन । यसले सपना देखाउने काम मात्रै गर्यो । तर, काम हुन सकेन । यस्ता कम्पनीलाई लाइसेन्स दिएर आयोजना ओगट्न दिनु हुँदैन, खारेज गर्ने तयारी हुँदै छ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

जनताको रकम फिर्ता गर्ने ग्यारेन्टी गरी लाइसेन्स खारेज

मन्त्री बलायरले संस्थापक सेयरका रूपमा जनतासँग संकलन गरिएको रकम नडुब्ने बताए । ‘संस्थापक सेयरका रूपमा जनतासँग सेयर उठाइएको छ । कम्पनी खारेज गरिए पनि जनताको रकम भने डुब्दैन । जनताले सेयरमार्फत जम्मा गरेको रकम फिर्ता हुने ग्यारेन्टीका साथ कम्पनी खारेज गरिनेछ,’ उनले भने ।

लक्ष्यअनुसार काम भएको भए १७ पुस ०७३ मा सुरुङमार्ग निर्माण भइसक्नुपर्ने हो । सरकारले कम्पनीलाई सुरुङमार्ग निर्माणको समयावधि १७ पुस ०७३ सम्मका लागि मात्रै दिएको थियो । सरकारले दिएको अवधि सकिएपछि म्याद थप गरी पाउँ भन्दै कम्पनी नौ महिनादेखि लबिङमा लागेको छ ।