१ साउन, कैलाली । यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ।

सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए। उनले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ भई मृत्यु हुने गरेको बताए।

कैलालीको सेती अञ्चल अस्पतालमा गत वर्ष सर्पले डसेका २१५ जना बिरामी उपचारका लागि आएका थिए भने यस वर्ष तीन महिनाको अवधिमा ६८ जना बिरामी उपचारका लागि अस्पताल आइसकेका छन्।

गत वर्ष एक वर्षको अवधिमा सातजनाको मृत्यु भएको थियो भने यो वर्ष असारमै मृतकको संख्या सात पुगिसकेको छ। वार्ड इन्चार्ज बोहराले रातिको समयमा सर्प प्रायः आवतजावत गर्ने भएकाले त्यस समयमा बढी सावधानी अपनाउनुपर्ने र केहीगरी डसिहालेमा बिरामीलाई बढी हलचल नगराई सक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्ने सुझाव दिए। रासस