१५ चैत, काठमाडौ ।

नयाँ शक्ति पार्टीले आँखा चुनाव चिन्ह नदिए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।

पार्टीको अन्तरिम केन्द्रीय परिषद्को दोस्रो पुर्ण बैठकमा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चुनावमा आफ्नो पार्टीले आँखा चुनाव चिन्ह नपाए चुनावमा भाग नलिने चेतावनी दिए ।

निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीले बेइमानी गरेको भन्दै भट्टराईले त्यसका विरुद्ध संघर्ष गर्ने चेतावनी दिए ।

संसदमा नरहेका दलले स्वतन्त्र रुपमा चुनाव चिन्ह पाउने गरी विधेयक बनेपछि त्यसको संसदमा नरहेका दलले विरोध गर्दै आएका छन ।

संयोजक डा. भट्टराईले भने, ‘भर्खरै जारी भएको स्थानीय तह निर्वाचन ऐनमा सुनियोजित र बद्नियतपूर्ण ढंगले अहिले संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको छ, त्यो हामीलाई मान्य छैन ।’

‘हामी चुनावको विकल्प छैन भनिरहेका छौं तर, चुनावमा जानको लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था भएको छ’, उनले भने, ‘सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग लिंदैनौं । ‘हामीलाई हाम्रै चुनाव चिन्ह आँखा दिनुपर्छ, चुनाव चिन्हबिना हामी चुनावमा भाग लिँदैनौं ।’

देशमा संविधान संशोधन कि चुनाव भन्ने सवालमा बहस सिर्जना भइरहेको बताउँदै नयाँ शक्ति पार्टीले चुनावमा संघर्ष र सहभागिताको दोहोरो कार्यनीति अख्तियार गर्ने बताएको छ ।

संयोजक भट्टराईले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको १० आधारहरु पेश गर्दै जनताका मुख्य मुद्दाहरुबारे जानकार तथा विकास निर्माणका सवालहरुमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने व्यक्ति उम्मेदवार हुने बताउँदै प्रभावकारी सामाजिक छवी भएको स्वतन्त्र सामाजिक व्यक्तिलाई समेत उम्मेदवार बनाउने बताए ।

बैठकमा देशभरबाट करीव एक हजार केन्द्रीय परिषद् सदस्यहरुको उपस्थिति रहेको नयाँ शक्तिले जनाएको छ । बैठकमा पार्टीको आगामी रणनीतिक कार्ययोजनाका बारेमा छलफल हुनेछ । बैठक भोलीसम्म चल्नेछ ।