२७ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको संख्या बढाउन बाटो खुल्ने गरी सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै निर्वाचनको सकारात्मक वातावरण बनेको जनाएको छ ।

सर्वोच्चको निर्णय अत्यन्तै सकारात्मक भएको र यसले निर्वाचनमा भाग लिने वातावरणलाई झनै सकारात्मक बनाएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या बढाउनेविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन आज खारेज गरेपछि सरकारलाई प्रदेश नं २ मा संख्या बढाउन बाटो खुला भएको छ ।

सरकारले संसद्मा पेश गरेको संविधान संशोधनको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे जस्तोसुकै परिणाम आए पनि निर्वाचनमा जाने राजपाको योजना छ । संशोधनको प्रस्तावलाई तत्काल अघि बढाउन सरकारसमक्ष महासचिव झाले आग्रह गरेका छन ।