९ माघ, एजेन्सी । नेपाली चेली तेरिया फौजा मगरले ‘झलक दिखला जा’ सिजन ९ को ताज पहिरेकी छन् । भारतीय टेलिभिजन च्यानल कलर्समा गएराति बलिउडका चर्चित नायक सलमान खानले यो घोषणा गरेका हुन् । 
तेरियालाई सलमानले ‘विगबोस’ को घरबाटै विजेता घोषणा गर्दै ट्रफी प्रदान गरेका थिए । सो प्रतिष्पर्धामा भारतकै चर्चित डान्सर सनातनु महेश्वरी भने दोश्रो भएका छन् । तेरियाले ट्रफीसंगै ३० लाख भारु नगद र डष्टर ब्राण्डको एक कार प्राप्त गरेकी छन् ।

रुपन्देही निवासी तेरियाले यो उपाधी जितेको खबर शनिबार विहानैदेखि भारतीय सञ्चारमाध्यम मार्फत नेपालमा पनि भाइरल भएकामा औपचारिक घोषणा भने शनिबार राति नेपाली समयअनुसार १०. ४५ मा भएको हो ।

ग्रान्डफिनालेमा अन्तिम प्रस्तुती दिएकी तेरियालाई निर्णयकले कुल ४० अंकमा ३८ दिएका थिए भने शनिबारको एपिशोडमा ४० मा ४० अंक प्राप्त गरेकी थिइन् । यो प्रतियोगितामा निर्णायकको ५० र जनताको ५० प्रतिशत भोट मिलाएर विजेता घोषणा गरिन्छ । तेरियाले कति जनताको मत पाइन् भन्ने आयोजकले खुलाएका छैनन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज थिए ।