प्रयास पराजुली
१२ फागुन, काठमाडौं।

आफूलाई देशकै सबैभन्दा ठूलो, प्रजातान्त्रिक, उदारवादी दल दाबी गर्ने दल हो नेपाली कांग्रेस । हिजो बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्मले प्रजातन्त्रको दुहाई दिन बाँकी राखेनन् । तर, भट्टराई, गणेशमानलाई छोडेर आफू शक्तिमा छउन्जेल कसैले पनि यी मान्यतालाई उजिल्याउन नसकेको नेपाली कांग्रेसभित्रै चर्चा गरिन्छ ।

कांग्रेसमा हिजैदेखि महाधिवेशन देखाउने, केन्द्रीय समिति देखाउने तर, निर्णय नेताहरुले कोठमा बसेर गर्ने परिपार्टी हुर्काउँदै ल्याएको इतिहास छ । गिरिजाले त हुकुमकै भरमा पार्टी चलाएको कसैबाट छिपेको छैन । तर, यो यथार्थप्रति मुख खोल्ने र उनको घेरा क्रस गर्न सक्ने कुनै कांग्रेसी नेता निस्किएनन् । उनले हुकुमी शैलीमा पार्टी चलाए र बिदा भए ।

उनीपछि सुशील कांग्रेसमा उही हुकुमी र कृपाकै बाटोबाट स्थापित भए । उनी अहिले छैनन् तर, इमान्दार छवि थियो । तर, देश, काल परिस्थितिको नेतृत्व गर्न सक्ने क्षमता र चातुर्यता उनमा कत्ति पनि थिएन । मात्रै निरन्तरता र पारिवारिक ‘लिगेसी’बाहेकको क्षमताबाट सुशील कांग्रेसमा आएको मान्न कोही तयार छैनन् ।

तथ्य पनि कोइरालाप्रति यस्तै भन्छन् । गिरिजाबाट पार्टी राजनीतिको नेतृत्वमा उदाउन पाएका सुशीलको शैली पनि उही हुकुमी भयो । आफू सभापतिमा निर्वाचित भएपनि उनले पार्टीलाई नयाँपन दिन सकेनन् ।

पदाधिकारी चयनमा किचलो उत्तिकै भयो, शेरबहादुर देउवा पक्षले भाँजो हाल्यो, तर, प्रस्ताव ल्याएको ९ महिनामा उपसभापति र महामन्त्री मनोनित गर्न सुशील सफल त भए तर, केन्द्रीय समितिमा २१ सदस्य मनोनित गरिसक्न कार्यकालको ५ वर्ष लगाइदिए ।

यी बाहेक पार्टीमा विभागलाई सक्रिय बनाउने, केन्द्रीय कार्यसम्पादन समिति बनाउने, भ्रातृ संस्थाको नियमित अधिवेशन गरी पार्टीको हितमा लगाउन उनी समर्थ भएनन् ।

महत्वपूर्ण विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक डाक्ने शैली असाध्यै थोरै गरे । केन्द्रीय समिति बैठक नहुँदा उनीसँग विकल्पमा कार्यसम्पादन समिति पनि थिएन । पार्टी भित्रकै प्रतिपक्षी देउवाहरुको असहयोगले पनि सुशीललाई केही सास्ती भने दिएकै थियो । यस्तै तरिकामा चल्दै गर्दा १३ औं महाधिवेशन मुखमा सुशील बिदा भए ।

रामचन्द्र मैदानमा आए पनि गिरिजादेखिका अर्का खेलाडी देउवासँग उनको केही लागेन र कांग्रेसको सत्ता देउवाको हातमा पुग्यो । यसरी सत्ता पाएको पनि एक वर्ष उनले गुजार्दा उनी परम्परागत कांग्रेस नेताहरुभन्दा एक रौं पनि फरक देखिइरहेका छैनन् । कतिपय विषयमा त आफ्ना अग्रजलाई समेत जितिसके ।

देउवाले महाधिवेशनबाट पारित भएको विधान अनुसार दुई महिनाभित्र उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित गरिसक्नुपर्ने थियो । २१ सदस्यीय कार्यसमितिलाई पूरा गरिसक्नुपर्ने थियो । ४२ विभाग गठन गरिसक्नुपर्ने थियो । केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसक्नुपर्ने जस्ता महत्वपूर्ण काम गरिसक्नुपर्ने भए पनि देउवा चुकेका छन् ।

नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन गर्ने बाहेकका अरु कुनै पनि काम देउवाले समयमा गर्न त के प्रस्तावसमेत ल्याउन सकेका छैनन् ।

तर, ठूलो प्रजातान्त्रिक दल दाबी गर्ने कांग्रेसलाई अहिले चौथो ठूलो शक्ति राप्रपाले चुनौति दिइरहेको छ । नामै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको कमल थापा नेतृत्वको यो शक्तिले अहिले देउवामाथि ठूलो दबाब सिर्जना गरेको हो ।

किनकी थापाको नेतृत्वको राप्रपाले पार्टी एक भएको तीन महिनामा एकता महाधिवेशन गरेर देखाएका छन् । त्यो पनि पार्टी एकीकरणपछिको कठिन चुनौतिका बीचमा ।

आफू निर्वाचित भएकै पर्सिपल्ट थापाले १५ केन्द्रीय समेत मनोनित गरेर समयमा काम गर्ने सुर देखाएका छन् । भलै उनले अझै ४९ केन्द्रीय सदस्य र २३ पदाधिकारी मनोनित गर्न बाँकी छ । तर, थापा यी काम गर्न पनि समय कटाउने पक्षमा देखिएका छैनन् ।

आफूलाई ठूलो प्रजातान्त्रिक दल दाबी गर्ने कांग्रेस सुस्त बन्नु र आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राप्रपाले सहज रुपमा पार्टी चलाउनु भनेको कांग्रेसलाई ठाडो चुनौति हो ।

यस अघि राप्रपा सानो शक्ति मानिन्थ्यो । तर, यसको दाबीलाई मान्ने हो भने यसले आफूलाई शक्तिमा उभ्याउँदैछ । यसको छनक थापाले संविधानलाई स्वागत गर्ने, संसोधनको पक्षमा उभिने, चुनावमा अघि बढ्ने, परिवर्तनलाई घुमाउरो पाराले स्वीकार गर्ने काम महाधिवेशनबाट गराएका छन् ।

आफू राप्रपाको केन्द्रमा बलियो गरी उदाउने उनको शैली अलि तानाशाही लाग्ने अवश्य देखिन्छ । तर, अध्यक्ष थापाले चलाखीपूर्वक पार्टीमा विधि, प्रक्रियासम्मत नेताहरुलाई मनाएरै बुझाएरै आफू उदाएका छन् । यस्तोमा ‘सलाम कमल थापा, देउवालाई प्रजातन्त्र किन नसिकाउने !’ किन नभन्ने ?