१३ वैशाख, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं २७ तालचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तालचोकबाट पोखरातर्फ आइरहेको ग१च ८२२५ नंको सामान बोक्ने भ्यानमा सोही दिशाबाट आइरहेको ग४प ९७०८ नंको मोटरसाइकलले उछिन्न खोज्दा भ्यानको अगाडिपट्टिको टायरमा ठोक्किन जाँदा पोखरा लेखनाथ–३३ बहुमाराका ३५ वर्षीय मोटरसाइकल चालक रामचन्द्र वाग्ले सख्त घाइते भई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएकामा उनको उपचार गर्दागर्दै आज १२:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २० वर्षीय श्रीराम भुसाल घाइते भएकाले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसँग ठोक्किएको भ्यान पनि अनियन्त्रित भई पछाडिबाट आइरहेको ग१त ४३४५ नंको ट्याक्टरसँग ठोक्किँदा ट्याक्टरमा पनि सामान्य क्षति भएको थियो । प्रहरीले तीनवटै सवारीसाधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । रासस