१० फागुन, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने ११ हजार ५५० जना चालकलाई कारबाही गरेको छ ।

उनीहरुलाई गरेको कारवाहीबाट रु ८५ लाख ३७ हजार राजस्वसमेत सङ्कलन गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उक्त अवधिमा मादक पदार्थ सेवनसहित विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १३६ जनालाई पक्राउ गरिएको र तीमध्ये केहीलाई कारबाही गरेर छाडिएको तथा लागुऔषध र गुण्डागर्दीमा संलग्न २८ जनामाथि मुद्दा नै दर्ता गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

प्रहरी उपरीक्षक थापाकाअनुसार यसरी कारबाहीमा परेकामध्ये मादक पदार्थ खाएर सवारी चलाउने ६८ जना, गुण्डागर्दीमा संलग्न २३ र विभिन्न घटनामा फरार भएका सातजना रहेका छन् ।

त्यस्तै, घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न तीन, जुवातास खेल्ने कार्यमा संलग्न १४, भन्सार चोरी निकासीमा संलग्न एक र लागु औषध मुद्दामा २० जना पक्राउ परेका प्रहरी उपरीक्षक थापाले बताए । रासस