१९ मंसिर, काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई रु दुई लाख बराबरको बीमा गर्ने भएको छ ।

कम्पनीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विपद् व्यवस्थापनमा निरन्तर खटिने गोताखोरको निःशुल्क बीमा गर्न लागिएको जानकारी दिएको हो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गणले सडक दुर्घटना, बाढीपहिरो तथा अन्य विपद् व्यवस्थापनमा सक्रिय योगदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा प्रनव सेनले सामाजिक उत्तरदायित्वसहितको सेवाका लागि जोखिमयुक्त काम गर्ने गोताखोरको बीमा गर्न लागिएको जानकारी दिए ।

समाजमा विशिष्ठ योगदान पु-याएका व्यक्तिलाई सम्मानस्वरुप बीमा सुविधा प्रदान गर्नेदेखि बीमाप्रति आम नागरिकलाई जागरुक बनाउने कम्पनीले लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत सेनको भनाइ छ ।

कम्पनीले एक महिनाभर सबै व्यक्तिगत बीमाकर्ताको मोटर, स्वास्थ्य र गृहस्थतर्फ रु एक लाख बराबरको बिमांक बराबरको निःशुल्क सेवा दिने कार्यक्रम अगाडि सारेको छ । भारतमा स्थापना भएको उक्त कम्पनीको नेपालमा ११ शाखा र सेवा केन्द्र रहेका छन् ।